मिर्चैया प्रहरीले गर्‍यो गाँजा फडानी

इलाका प्रहरी, जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरोको ३८ जनाको टोलीले व्यावसायिक रूपमा लगाइएको अवैध गाँजा खेती फडानी गरी जलाएर नष्ट गरेको छ।

पुस १२, २०८२

विनय आजाद

Mirchaiya police busted marijuana plantation

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका–९ रुदलपुरमा प्रहरीले ठूलो मात्रामा गाँजा फडानी गरेको छ। प्रहरीले शनिबार बिहान रुदलपुरस्थित खेत तथा बारीमा लगाइएको गाँजा फडानी गरेको हो।

यस गाउँका विभिन्न व्यक्तिको करिब नौ कट्ठा जग्गामा लगाइएका साढे ११ सय हाराहारी गाँजाका बोट फडानी गरी जलाएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेशराज पुरीले जानकारी दिए।

डीएसपी पुरीका अनुसार व्यावसायिक ढंगले गाँजा खेती गरिएको सूचना प्रहरीकहाँ आएपछि इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरोबाट ३८ जना प्रहरीको टोली परिचालन गरी फडानी गरिएको हो।

गाँजा खेती अवैध भए पनि यस क्षेत्रमा कतिपयले कानुनी अज्ञानताका कारण र कतिपयले जानाजानी गाँजा खेती गर्ने गरेको भन्दै यस्तो फडानी अभियान आगामी दिनमा पनि निरन्तर रहने डीएसपी पुरीले बताए।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully