खाँडो खोलामा अवैध उत्खनन् राेकिएन

स्थानीय व्यापारीले राजविराज–हनुमाननगर सडक खण्डमा पर्ने खाँडो पुलको डेढ सय मिटर दक्षिणतर्फ खोलामा लोडर राखेरै अवैध उत्खनन् गरिरहेका छन् ।

पुस १२, २०८२

विद्यानन्द राम

Illegal mining in Khando River not stopped

What you should know

राजविराज — सप्तरीको राजविराज नगरपालिका–१३ देउरी भरुवास्थित खाँडो खोलामा अवैध उत्खनन् रोकिएको छैन् ।

शनिबार बिहानैदेखि ८/१० वटा ट्याक्टर प्रयोग गरी स्थानीय व्यापारीले खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन् गरिरहेका छन् ।

शनिबार दिउँसोसम्म मात्रै एक सयभन्दा बढी ट्रली वालुवा उत्खनन् गरेको प्रत्यक्षदर्शीले बताए । ‘हामीले बोल्दा अनाहकमा कुटाइ खानुपर्छ,’ एक स्थानीयले भने, ‘हिजो नगरपालिकाका कर्मचारीले खोलामा उत्खनन् भइरहेको कुरा हेरेर पनि फर्किए । आज पनि बिहानैदेखि उत्खनन् भइरहेको छ ।’

नगरपालिकाका कर्मचारीको मिलेमतोमा खोलामा अवैध उत्खनन् भइरहेको उनको आरोप छ । ‘सर्वसाधारणलाई एक/दुई ट्रली बालुवा जरुरी पर्दा नगरपालिकाले उत्खनन् गर्न दिँदैन । तर व्यापारीहरुले दैनिक दुई सय ट्रलीसम्म उत्खनन् गरिरहँदा पनि कर्मचारी मौन छन्,’ उनले थपे, ‘गाउँको माहौल खराब छ । उत्खननकाे विषयमा कसैलाई गुनासो गर्दा कुटाइ खानुपर्ने हो, त्यसैले चुप छु ।’

स्थानीय व्यापारीले राजविराज–हनुमाननगर सडक खण्डमा पर्ने खाँडो पुलको डेढ सय मिटर दक्षिणतर्फ खोलामा लोडर (माटो काट्ने र लोड गर्ने मेसिन) राखेरै अवैध उत्खनन् गरिरहेका छन् ।

कार्यवाहक नगरप्रमुख इसरत परविनले खाँडो खोलाको नदीजन्य पदार्थ उत्खननका लागि पटक–पटक बोलपत्र आहृवान गर्दा पनि कसैले नभरेको बताइन् । ‘यहाँका कर्मचारीको मिलेमतो त नहोला तर केही स्थानीयले जबरजस्ती गरेर खोलामा अवैध उत्खनन् गर्छन्,’ उनले भनिन्, ‘त्यस्ताे अवैध कार्य गर्नेलाई नियन्त्रणमा लिनका लागि प्रहरीसँग समन्वयन गर्दैछु ।’ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले त्यस विषयमा बुझ्नु कार्य भइरहेको बताए । 

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully