खोलामा अवैध उत्खनन कार्यमा खटाइएका ट्याक्टर नियन्त्रणमा लिइएको एसपी गौतमकुमार केसीले बताए ।
राजविराज — सप्तरीको राजविराज नगरपालिका–१३ देउरी भरुवास्थित खाँडो खोलामा अवैध उत्खनन कार्यमा खटाइएका तीनवटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट शनिबार साँझ खटिएको प्रहरी टोलीले को २ त १८८३, स १ त ७७८६ र प्र २–०१–००१ त ०५८८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
खोलामा अवैध उत्खनन कार्यमा खटाइएका ती ट्याक्टर नियन्त्रणमा लिइएको एसपी गौतमकुमार केसीले बताए । ‘खोलाबाटै ती ट्याक्टरहरू नियन्त्रणमा लिएका छौं,' उनले भने । उनका अनुसार नियन्त्रणमा लिइएका तीनवटै ट्याक्टर आवश्यक कारबाहीका लागि नगरपालिकालाई बुझाउने तयारी भइरहेको छ ।
स्थानीय व्यापारीले राजविराज–हनुमाननगर सडक खण्डमा पर्ने खाँडो पुलको डेढ सय मिटर दक्षिणतर्फ लोडर (माटो काट्ने र लोड गर्ने मेसिन) राखेर ८/१० वटा ट्याक्टरले दैनिक दुई सयभन्दा बढी ट्रली नदीजन्य पदार्थको अवैध उत्खनन गरिरहेको विषयमा ‘कान्तिपुर’ले समाचार सार्वजनिक गरेको थियो ।
