सिन्डिकेटको विरोधमा उत्रिए रौतहटका उखु किसान  

रौतहट, बारा, पर्सा र सर्लाहीका चिनी उद्योगहरुले आपसी सहमतिमा आफ्नो जिल्लाभित्रका उखु मात्र खरिद गर्ने निर्णय गरेर कथित सिन्डिकेट खडा गरी उखु किसानलाई दु:ख दिन खोजेको भन्दै किसानले आन्दोलन घोषणा गरेका हुन् ।

पुस १०, २०८२

शिव पुरी

Sugarcane farmers of Rautahat protest against syndicate

What you should know

रौतहट — चिनी उद्योगहरुले उखु खरिदमा लगाएको सिन्डिकेटको विरोधमा जिल्लाका उखु किसानले आन्दोलनको घोषणा गरेका छन् । सिन्डिकेटले अन्य जिल्लाका चिनी मिलमा उखु बेच्ने स्वतन्त्रता खोसिएको भन्दै किसानहरु आक्रोशित छन् । 

रौतहट, बारा, पर्सा र सर्लाहीका चिनी उद्योगहरुले आपसी सहमतिमा आफ्नो जिल्लाभित्रका उखु मात्र खरिद गर्ने निर्णय गरेर कथित सिन्डिकेट खडा गरी उखु किसानलाई दु:ख दिन खोजेको भन्दै किसानले आन्दोलन घोषणा गरेका हुन् । जिल्लाको फतुवा विजयपुर नगरपालिका–९, विजयपुरमा बुधबार भेला भएर किसानहरुले सिन्डिकेट तत्काल खारेज गर्न माग अघि सारेका छन् । 

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले किसानले चाहेको उद्योगमा उखु बिक्री गर्न पाउनु पर्ने अन्यथा यसले पछि ठूलो समस्या निम्त्याउने बताए । ‘किसानका लागि खुला बजार हुनुपर्छ । सिन्डिकेट लागू गरेको हामी मान्दैनौं,’ उनले भने,‘एक जिल्लाबाट अर्का जिल्लामा उखु बेच्न नपाउनु सरासर अन्याय हो । यो सच्याइएन भने कडा आन्दोलन गर्छौं ।’ जिल्लाको सबैभन्दा ठूलो श्रीराम सुगर मिल बन्द भएपछि अहिले कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज मात्र सञ्चालनमा छ । मिलका संचालक बैजु बाबराले सिन्डिकेटको कुरा निराधार भएको दाबी गरे । 

जिल्लाको धरमपुर क्षेत्रका किसानले सर्लाही र बिजयपुर क्षेत्रका किसानले बाराको रिलायन्स चिनिमिलमा उखु बेच्थे । उद्योगीहरुले आफ्नै जिल्लाभित्रको उखु मात्र खरिद गर्ने भनिए पछि किसानले सर्लाही र बारा बेच्न नपाउने भएका हुन् । एउटै उद्योगको भर पर्दा समयमा चलान नपाउने र पायो भने मिलमा लैजान समस्या हुने हुँदा आफूलाई पायक पर्ने गरी उखु बिक्री गर्न पाउनु पर्ने बिजयपुरका किसान राजकरण रायले सुनाए ।

किसानहरुले संघर्ष समिति गठन गरेका छन् । समितिले पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, माग सुनवाइ नभए चरणबद्ध आन्दोलन गर्ने समितिले चेतावनी दिएको छ । सिन्डिकेटबाट किसानलाई अन्य जिल्लाका चिनी मिलमा उखु बेच्ने स्वतन्त्रता खोसिएको संघर्ष समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद यादवले बताए । 

जिल्लामा अहिले ६ हजार उखु किसान छन् । पछिल्लो समय उखु किसानको संख्या घटेको संघका अध्यक्ष अशोक यादवले जनाए ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully