कांग्रेस सहमहामन्त्रीद्वय बारा १ र ३ बाट
बारा — आउँदो फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि बाराको संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालले केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम फेरि पनि सिफारिस गरेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तत्कालीन महासचिव रामसहायप्रसाद यादव त्यस निर्वाचन क्षेत्रबाट निर्वाचित भएर उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा उपेन्द्र यादव निर्वाचित भएका थिए । उनी सप्तरीबाट हार बेहोरेपछि संसद्बाट बाहिर हुँदा कांग्रेसलगायतका दलको सहयोगमा यहाँबाट निर्वाचित भई संसद् छिरेका थिए ।
उनीसँगै उपराष्ट्रपति यादवका छोरा शत्रुधन यादव र रामकिशोर यादवसहितको समेत नाम सिफारिस गरिएको हो । यस क्षेत्रमा कांग्रेसबाट जिल्लाका पूर्वसभापति राधेचन्द यादवको एकल नाम सिफारिस गरेको छ । उनी यसअघि यस क्षेत्राट पटकपटक निर्वाचित भइसकेका हुन् ।
यसैगरी कांग्रेसबाट गृहजिल्ला बारा भएका कांग्रेसका सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र उमाकान्त चौधरीको क्रमशः निर्वाचन क्षेत्र नम्बर ३ र १ बाट सिफारिस गरिएको छ ।
मन्सुर सिफारिस भएको क्षेत्रबाट क्षेत्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवाको नाम सिफारिस गरे पनि जिल्लाको सिफारिसबाट भने हटाइएको छ । चौधरी सिफारिस भएको क्षेत्रमा क्षेत्रीय समितिले चौधरीसँगै शम्भुबहादुर बुढाथोकीको नामसमेत सिफारिस गरेको छ ।
कांग्रेसमा दुई धार भएकाले जिल्ला सभापतिले सिफारिस गरेको भन्दा क्षेत्रले फरकफरक सिफारिस गरेको छ ।
