दाताहरुबाट प्राप्त रकमले देवरतिया देवीसहित मुसहर बस्तीका अन्य ७ जनालाई सिरक, डसनालगातका न्यानाे कपडा उपलब्ध गराएकाे हाे ।
What you should know
रौतहट — मान्द्रो (चटाई) ओढेर रात बिताउँदै आएकी चन्द्रपुर–९ चेतनगरकी ६० वर्षीया देवरतिया देवी माझी (मुसहर्नी) लाई सहयोगीले सिरक, डस्ना, खटिया र खाद्यान्न सहयोग गरेका छन् ।
तराईमा बाक्लो हुस्सु र शीतलहर सुरु भएपछि उनले धेरै दिनदेखि राम्रोसित खान र सुत्न पाएकी थिइनन् । उनको अवस्थाबारे कान्तिपुरमा समाचार प्रकाशित भएपछि देवरतियालाई दाताले सहयोग गरेका हुन् । बिहीबार सहयोग सामग्री पाएपछि उनले मुस्कुराउँदै भनिन्, ‘जाडमे अब मास खाएके मन बा’ (जाडोमा अब मासु खान मन छ) ।
मान्द्रो ओढेको तस्बिरसहित देवरतियाको अवस्थाबारे कान्तिपुरले समाचार प्रकाशित गरेपछि क्याप्टेन रामेश्वर थापाले १० हजार, काठमाडौंका कोकिल श्रेष्ठले १० हजार, अभियन्ता बताउने युवराज सफलले १० हजार, चन्द्रपुरका मीन गौतमले ५ हजार, हिमाल प्रसाईँले ५ हजार ५ सय, हाल अस्ट्रेलियामा रहेका जाेरपाटीका विश्वनाथ खनालले १० हजार नगद सहयोग रकम उपलब्ध गराएका हुन् ।
उक्त रकमबाट पत्रकार महासंघका अध्यक्ष सजय कार्कीसहितको टोली पुगेर दवरतियालाई सिरक, डसना, खाद्यान्न हस्तान्तरण गरेका छन् । दाताहरूबाट प्राप्त रकमले मुसहर बस्तीका अन्य ७ जनालाई पनि सिरक, डसना दिन लागेको स्थानीय वीरबहादुर श्रेष्ठले बताए । सहयोगीहरूबाट प्राप्त रकमले चारैतिर भत्किएको देवरतिया देवीको घरमा बाँसको टाट र छाना पनि लगाइरहेको श्रेष्ठले बताए ।
एक दशकअघि श्रीमान् लालगोविन्द मुसहरको मृत्यु भएपछि दुखका दिन सुरु भएको देवरतियाले सुनाइन् । ‘सन्तानको तीन छोरा छन् । तर साथमा अहिले एउटै छैनन् । सबैले साथ छाडेर गए,’ उनले भनिन्,‘आफ्नै खुन भन्दा सहयोगीहरू काम लागे । मिठो खाऊ, राम्रा कपडा लगाऔँ, छोराहरू पढेर सरकारी जागिर खाउन् भन्ने सपना थियो । तर सपना देख्नै बेकार भयो ।’
उनले मासु खाने इच्छा गरेपछि सहयोगीबाट प्राप्त रकमले बिहीबार किनेर दिएका छन् । सहयोगीबाट प्राप्त रकमबाट खरिद गरिएको सिरक, डसना अर्का पीडित बुटिया मुसहर्नीले समेत पाएकी छन् । यो गाउँमा गतिलो कपडा नभएर मान्द्रो ओढेर सुत्ने अझै धेरै रहेको स्थानीय हेमा मुसहर्नीले सुनाइन् ।
एक सातादेखि बढेको चिसो र शीतलहरले रौतहटलगायत मधेशका जिल्ला प्रभावित छन् । शीतलहरले विपन्न बस्तीका साथै सुत्केरी, गर्भवती, बृद्धबृद्धा, विपन्न परिवार बढी प्रभावित छन् ।
चिसो बढेसँगै बिहीबार डिभिजन वन कार्यालयले चन्द्रनिगाहपुरको चोकहरुमा दाउरा बाल्न सहयोग गरेको छ । मानिसहरू बिहानैदेखि दाउरा बालेर आगो तापिरहेका छन् ।
