वीरगन्ज नाकाबाट एक वर्षमा १ सय २८ महिला तथा बालबालिकाको उद्धार

यस वर्ष नेपालबाट भारततर्फ जानेहरूमा अधिकांश भारतका विभिन्न सहरमा सन्चालित नेटवर्किङ कम्पनीमा जाने महिला बढी रहेका छन् ।

पुस ९, २०८२

शंकर आचार्य

128 women and children rescued from Birgunj border in one year

What you should know

पर्सा — मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा कार्यरत संस्था माइती नेपालले सन् २०२५ मा सीमाबाट १ सय २८ महिला तथा बालबालिकाको उद्धार गरेको छ । माइती नेपाल वीरगन्ज आवधिक गृहले बुधबार वीरगन्जमा आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा शाखाले वार्षिक तथ्यांक सार्वजनिक गरेको हो ।

शाखाकी प्रमुख पर्यवेक्षक गोमा पौडेलले वार्षिक तथ्यांक प्रस्तुत गर्दै यस अवधिमा भारतबाट डेढ दर्जन महिला तथा बालबालिकाको उद्धार, २ सय ८१ लाई सेल्टर सहयोग, १ सय २४ नेपाल प्रहरी तथा अन्य निकायले विभिन्न समस्यामा रहेकालाई संरक्षणको जिम्मा लगाएको बताइन् ।

एक वर्षको अवधिमा गृहले २ सय ७५ महिला तथा बालबालिकालाई २ सय ७५ पारिवारिक पुनर्मिलन गराएको, ५ लाई अन्य तथा माइती नेपालको केन्द्रीय कार्यालयमा पठाएको र ३३ लाई नेपाल-भारत सीमाबाट सिधै घर पठाइएको छ ।

पौडेलका अनुसार यस वर्ष नेपालबाट भारततर्फ जानेहरूमा अधिकांश भारतका विभिन्न सहरमा सन्चालित नेटवर्किङ कम्पनीमा जाने महिला बढी रहेका छन् । वीरगन्ज नाका हुँदै तेस्रो देश जानेहरू राहदानी अरुकै हातमा पठाई बजारसम्म गएको बहाना बनाउने गरेको पाइएको उनले बताइन् ।

कतिपय महिला मुस्लिम धर्मावलम्बीको पहिरन (नकाब) लगाएर सीमा पार गर्ने, दलालले नाकासम्म महिलाका अभिभावककै प्रयोग गर्ने, रोजगारको अवसर र आर्थिक प्रलोभनका कारण भारततर्फ जाने आकर्षण बढिरहेको पनि पौडेलले बताइन् ।

वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले मानव बेचबिखन नेपालको प्रमुख अपराधमध्ये एक रहेको र यो कार्यका लागि वीरगन्ज नाका बढी प्रयोग हुनु दुःखद रहेको बताए । उनले बेचबिखन नियन्त्रणको क्षेत्रमा माइती नेपालसँग महानगर हातेमालो गर्न तयार रहेको पनि बताए ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully