चिसोबाट टहरा र छाप्रोमा बसिरहेका विपन्न तथा दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार बढी प्रभावित भएका छन् ।
What you should know
सर्लाही — चिसो अत्याधिक बढेपछि सर्लाहीसहित तराई मधेसको जनजीवन प्रभावित छ । यहाँ शुक्रबारयता घाम लागेको छैन । जाडाे बढेपछि बजार तथा सडकमा चहलपहल घटेकाे छ ।
चिसोले सबैभन्दा बढी विपन्न परिवार प्रभावित बने पनि सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।
लगलग काप्ने चिसोले सर्वसाधारणको दैनिकी अत्यन्त प्रभावित बनिरहेको छ । खासगरी चिसोबाट टहरा र छाप्रोमा बसिरहेका विपन्न तथा दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार बढी प्रभावित भएका छन् । कठ्यांग्रिदो चिसोका कारण मजदुरहरुलाई काममा जान नसक्दा परिवार चलाउन समस्या परेको छ ।
चिसो छल्न सर्वसाधारण घर, चोकमा आगो तापेर बसिरहेका छन् । तर न्यानो र कपडा नभएका विपन्न परिवार भने कठ्यांग्रिन बाध्य बनेका छन् ।
चिसो प्रभावितलाई न्यानो प्रदान गर्न स्थानीय सरकार तथा जिल्लास्थित विपद् व्यवस्थापन समितिलगायत अन्य सरोकारवालाहरुले चासो देखाएको छैन । कौडेना गाउँपालिका–३ कौडेनाकी सिता मल्लीले शरीर ढाक्ने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा परालको भरमा जाडो झेलिरहेको बताइन् । ‘चिसो अत्याधिक बढेको छ, घरका पुराना फाटेका लुगाबाट जसोतसो जाडो छल्ने प्रयास गरिरहेको छु,’ उनले भनिन्, ‘चिसोले ज्यालामा काम गर्न पनि सकस भइरहेको छ ।’
