संविधान संशोधन नगरी चुनावमा जाँदा मुलुकले निकास पाउँदैन : उपेन्द्र यादव

संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन नै गर्नुपर्ने जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको जिकिर ।

पुस ७, २०८२

विनय आजाद

The country will not find a way out if it goes to the polls without amending the constitution: Upendra Yadav

सिरहा — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा जाँदा मुलुकले निकास नपाउने बताएका छन् ।

सिरहाको गोलबजारमा सोमबार आयोजित डोटिम परिसंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

अहिलेको संविधान आफ्नै देशका जनतालाई गोली दागेर जबर्जस्ती जारी गरिएको, यसले मुलुकका सबै जनतालाई नसमेटेको र यसैकारण मुलुक अस्थिर रहँदै आएको उनको भनाइ छ । 'यो संविधान जारी गर्ने बेला लाखौं मधेशी जनता सडकमा ब्ल्याकआउट गर्दै थिए तर गोली दागेर संविधान जारी गरियो,' उनले भने, 'यस्तो संविधान जनतालाई स्वीकार्य हुँदैन ।'

अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन नै गर्नुपर्ने बताए । तर, संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए देशले निकास नपाउने उनको जिकिर थियो । 'हामी चुनावमा त जाउँला,' उनले भने, 'तर, यसरी मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन्, कांग्रेस र कम्युनिस्टले लुट मच्याइरहन्छन् ।'

संविधानमा सबै समुदायलाई जनसंख्याका आधारमा सम्बोधन गर्नुपर्ने उनले बताए । 'राजनीतिक वा प्रशासनिक क्षेत्रमा होस्, सेवा वा अवसर प्राप्तिमा होस्, गैरबराबरी अन्त्य गर्नुपर्छ,' यादवले भने, 'जसको जति जनसंख्या छ, हरेक क्षेत्रमा त्यति हिस्सा मिल्नु पर्‍यो ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully