सत्तारुढ नेपाली कांग्रेससहित सात दलले जसपाका रामआशिष यादवलाई सभामुख बनाउन प्रस्ताव गरेका छन्। उक्त प्रस्तावमाथि अहिले मत विभाजन भइरहेको छ।
जनकपुरधाम — मधेस प्रदेश सभाको रिक्त सभामुख पदका लागि मत विभाजन प्रक्रिया सुरु भएको छ । प्रदेश सभा सचिवालयमा सभामुख चयनका लागि दर्ता भएको प्रस्तावमाथि छलफलपछि अहिले निर्वाचन भइरहेको छ ।
पहिलो प्रस्ताव जसपाका रामआशिष यादवलाई सभामुख बनाउन दर्ता भएको छ । उनलाई नेपाली कांग्रेससहित सात दलले समर्थन गर्ने प्रस्तावमाथिको छलफलका क्रममा बताएका थिए ।
यादवलाई नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी (लोसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले मत दिने घोषणा गरेका छन् । यी सात दलका मधेस प्रदेश सभामा ७७ जना प्रदेश सभा सदस्य छन् । सो आधारमा यादव सभामुख बन्ने निश्चित छ ।
नेकपा एमालेका उम्मेदवार त्रिलोकीप्रसाद यादवलाई तीन दलले साथ दिनेछन् । त्रिलोकीलाई नेकपा एमाले, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका सांसदले मत दिने घोषणा गरेका छन् । यी तीन दलका २७ जना प्रदेश सभा सदस्य मात्रै छन् ।
अहिले मधेस प्रदेश सभामा कुल १०७ मध्ये १०४ जना प्रदेश सभा सदस्य कायम छन् । नेकपा एमालेका दिपेन्द्र ठाकुर, जसपाका सरोज सिंह कुशवाहा र लोसपाका अभिराम शर्मा निलम्बित छन् ।
