मधेश प्रदेशसभा : सभामुख चयनका लागि दुई प्रस्ताव पेस

जसपाका रामआशिष यादव र एमालेबाट त्रिलोकीप्रसाद यादवले उम्मेदवारी दिएका छन् ।

पुस ६, २०८२

कमलेश ठाकुर

Madhesh Provincial Assembly: Two proposals submitted for the election of Speaker

जनकपुरधाम — मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि प्रस्ताव पेस भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुईवटा प्रस्ताव पेस भएका छन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जनता समाजवादी पार्टी (जसपा) नेपालका रामआशिष यादवलाई सभामुख बनाउन प्रस्ताव पेस गरेका छन् । यस प्रस्तावलाई नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतोले सर्मथन गरेका छन् ।

त्यस्तै नेकपा एमालेका त्रिलोकीप्रसाद यादवलाई सभामुख बनाउन उनकै पार्टी सांसद शारदादेवी थापाले प्रस्ताव गरेकी छिन् भने उनलाई जयचन्द्र प्रसाद पटेलले सर्मथन गरेका छन् ।

गएको मंसिर ३ गते पद अनुकूलको आचरण नगरेको भन्दै सभामुख रामचन्द्र मण्डललाई प्रदेशसभाको बैठकबाट पदमुक्त गरिएको थियो । 

सभामुख चयनका लागि आजै मतदान हुने भएको छ ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully