एसईई फारमका नाममा विद्यालयबाट अवैध असुली

रसिदमा कार्यालयको छाप पनि नलगाई विद्यालयसँग रकम उठाइरहँदा पनि प्रधानाध्यापकहरु बोल्ने आँट गर्न सकेका छैनन् ।

पुस ६, २०८२

विद्यानन्द राम

Illegal collection from schools in the name of SEE forms

What you should know

राजविराज — शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) फारमका नाममा विद्यालयसँग अवैध रकम उठाइरहेको पाइएको छ ।

इकाई प्रमुख शशिकुमार यादवले कार्यालय सहयोगी मुकेश यादवमार्फत विद्यालयबाट पाँच हजार रुपैयाँसम्म उठाइरहेका छन् । कार्यालय सहयोगी मुकेशले रकम उठाउँदा रसिद नै दिने गरेका छन् । तर, उक्त रसिद काटेको ठेली र विवरण इकाई कार्यालयमा छैन । 

रसिदमा कार्यालयको छाप पनि नलगाई विद्यालयसँग रकम उठाइरहँदा पनि प्रधानाध्यापकहरु बोल्ने आँट गर्न सकेका छैनन् । इकाई कार्यालयका सूचना अधिकारी कमलनाथ यादवलाई कार्यालय सहयोगी मुकेशले काटिरहेको रसिदबारे सोध्दा जानकारी नरहेको बताए । ‘विद्यालयले रजिष्ट्रेशनवापतको रकम बैंकमै जम्मा गरेर यहाँ भौचर बुझाउने गरेको विषय मात्रै मलाई जानकारी छ,’ उनले भने, ‘त्यो रसिद र ठेलीबारे कार्यालय प्रमुखलाई नै सोध्नुहोला ।’ 

Illegal collection from schools in the name of SEE forms

‘कान्तिपुर’लाई प्राप्त २१४ नम्बरको रसिदअनुसार कार्यालय सहयोगी मुकेशले एउटा विद्यालयसँग १ हजार १ सय रुपैयाँ उठाएका छन् । उक्त विषयमा प्रश्न गर्दा कार्यालय सहयोगी मुकेशले कार्यालय प्रमुखले अर्हाएको काम गरिरहेको स्वीकार गरे । ‘जिशिअ (जिल्ला शिक्षा अधिकारी) सरको आदेशअनुसार नै मैले आफ्नो जिम्मेवारी पूरा गर्दैछु,’ उनले भने, ‘उहाँले विद्यालयसँग एसइई फारमवापत प्रतिविद्यार्थी २० देखि २५ का दरले लिन भन्नुभएको छ ।’

इकाई कार्यालय प्रमुख शशिले जिल्ला शिक्षा समितिमा भएको निर्णयअनुसार नै फारमवापतको शूल्क लिइरहेको बताए । उनले उक्त रकम इकाईको आन्तरिक आम्दानी खातामा जम्मा भइरहेको दाबी गरे पनि जिल्ला शिक्षा समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साहलाई यो निर्णयबारे जानकारी छैन् । ‘एसइईको फारमवापत शूल्क लिने विषयमा कुनै निर्णय भएको छैन्,’ उनले भने, ‘विद्यालयसँग त्यसरी मनोमानी पैसा उठाउन थाल्यो भने त्यो भार पनि त विद्यार्थीमाथि नै पर्छ । त्यो गलत हो ।’ 

सप्तरीमा माध्यमिक शिक्षा अध्यापन भइरहेका सामुदायिक र संस्थागत गरी १५६ वटा विद्यालय छन् । तीमध्ये यस वर्ष १५० विद्यालयका ८ हजार ७ सय नियमित र १ हजार ५ सय जना विद्यार्थी ग्रेड बृद्धिका लागि एसइईमा सहभागी हुने इकाई कार्यालयको तथ्यांक छ ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully