गरिब र दलितको निधनमा सहारा बनिरहेछ लहान नगरपालिका

दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने गरिब, दलित तथा विपन्नहरू यस्तो शोकको घडीमा विगतमा भोकै बस्नुपर्ने स्थिति देखेको र त्यसलाई अन्त्य गर्न यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए ।

पुस ४, २०८२

विनय आजाद

Lahan Municipality is becoming a support for the poor and Dalits in their deaths

What you should know

सिरहा — लहान नगरपालिका–१८ का ५२ वर्षीय गुदर मोची चप्पलजुत्ता मर्मत गर्ने काम गर्छन् । यसबाटै आम्दानी हुने पैसोले उनको परिवार चल्छ । तर, आर्थिक रूपले निकै विपन्न उनी अचेल एक सातादेखि काममा जानै पाएका छैनन् ।

एक साताअघि उनकी पत्नी डोमनी देवी मोचीको अल्पआयुमै निधन भयो । उनी केही समयदेखि बिमार थिइन् । डोमनी र गुदरका पाँच छोरी र एक छोरा छन् । डोमनीको निधनपछि शोकमा डुबेको परिवारलाई छाडेर उनी काममा जाने अवस्थै भएन ।

उनी काममा जान नसक्दा छिमेकीसँग सहयोग मागेर साँझ र बिहान चुलो बल्ने स्थिति बन्यो । यस्तोमा लहान नगरपालिकाले यो परिवारलाई राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाले एक क्विन्टल चामल, तीन किलोका दरले दाल, नुन, तेल र एक थान फाइबर सिरक दिएपछि उनी भावुक हुँदै धन्यवाद दिए ।

‘घरमा भएको अन्नपानी सकिएपछि छिमेकीसँग सहयोग मागेका थियौं, तर यही समयमा नगरपालिकाले गरेको यो सहयोग मेरा लागि ठूलो राहत हो,’ गुदरले भावुक हुँदै भने, ‘झट्ट हेर्दा केही राहत सामग्री छन्, तर हामी गरिबका लागि यस्तो बेलामा यो ठूलो चिज हो ।’

नगर प्रमुख महेशप्रसाद चौधरीको नेतृत्वमा गएको नगरपालिकाको टोलीले यसैगरी लहान नगरपालिका–१८ की ७० वर्षीय बचकुनी सदायको परिवारलाई पनि राहत प्रदान गरेको छ । उनको पनि गत साता नै मृत्यु भएको थियो ।

उनीहरू मात्र होइन, नगरपालिकाले यसरी २०७९ सालयता यस्ता सयौं परिवारलाई मृत्यु शोकमा राहत प्रदान गरेको छ । दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने गरिब, दलित तथा विपन्नहरू यस्तो शोकको घडीमा विगतमा भोकै बस्नुपर्ने स्थिति देखेको र त्यसलाई अन्त्य गर्न यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख महेशप्रसाद चौधरीले बताए ।

‘दैनिक काम गरेर परिवार पाल्नेहरुलाई यस्तो बेला निकै कठिन हुन्छ, त्यसैले उनीहरु भोकभोकै बस्नुपर्ने स्थिति नबनोस् भनेर यो कार्यक्रम चलाएको हुँ,’ मेयर चौधरीले भने, ‘एक हिसाबले यो मानवीय कार्य पनि हो, यसले दलित विपन्न नागरिकहरुमा राज्य भएको आभाष पनि गराउँछ ।’

नगरपालिकाले राहत सामग्रीसँगै दलितभित्रै अति विपन्न मानिने मुहसर समुदायका परिवारलाई पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्दै आएको छ । यससँगै राहत सामग्री लिएर हस्तान्तरण गर्न जाँदा घरको स्थिति हेरेर घर बनाउन पनि सहयोग गर्ने गरेको मेयर चौधरीले बताए ।

नगरपालिकाले यसका अलावा नगरबासीलाई शव जलाउनका लागि दाउरा पनि उपलब्ध गराउँदै आएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully