आरोपित पक्राउ नपर्दा साढे ३ वर्षदेखि न्यायका लागि भौतारिँदै किसन खंग

जिल्ला अदालतले जारी गरेको ३५ दिने म्यादभित्र हाजिर हुन नआएको र प्रहरीले पनि पक्राउ गर्न नसकेपछि आरोपितहरुको नाममा रहेको सम्पत्ति रोक्का गर्ने गरी न्यायाधीश श्यामविहारी मौर्यको इजलासले १ चैत २०७९ मा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा मुल्तबीमा राखिएको थियो ।

पुस ४, २०८२

विद्यानन्द राम

Kishan Khang has been wandering for justice for 3 and a half years as the accused has not been arrested.

What you should know

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ५७ वर्षीय किसन खंगमाथि खुकुरी प्रहार गरी हत्याको प्रयास भएको साढे ३ वर्ष बितिसक्दा पनि न्याय पाएका छैनन् ।

उनी १६ वैशाख २०७९ देखि नै न्यायका लागि भौतारिँदै छन् । २७ चैत २०७८ मा उनी गहुँ दाउनी गरिरहँदा सोही ठाउँका ५९ वर्षीय पाँचु खंगको प्याज खेतमा भुसा उडेर गएको निहुँमा परिवारका सदस्यसहित पुगेका पाँचुले घरबाटै निकालेर किसनको ढाडमा खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याए पनि त्यहाँ उपचार सम्भव हुन सकेन । थप उपचारको लागि राजविराजकै छिन्नमस्ता अस्पतालमा भर्ना गरिएका उनी एक सातापछि घर फर्किएका थिए ।

तर, उपचारमा साढे ५ लाख रुपैयाँ खर्च भइसकेको र आर्थिक अभावका कारण उपचारको बेला ढाडमा लगाइएको ‘स्टिल’ अझैसम्म झिक्न नसकेको किसनले बताए । ‘चिकित्सकले एक वर्षमै ढाडको ‘स्टिल’ झिक्नुपर्ने सुझाव दिनुभएको थियो । ‘स्लिट’ झिक्न नसक्दा उठबस गर्न बहुत गाह्रो भइरहेको छ,’ उनले भने, ‘आफुमाथि ज्यान मार्ने हमला हुँदा पनि त्योबेला प्रहरीको सहयोग नपाउँदा मुद्दा नै मुल्तबी भइसक्यो ।’

अहिले पनि आरोपितहरु गाउँमा खुलेयाम घुमिरहेको र एक जना नियमित रुपमा विद्यालयमा जागिर खाइरहँदासमेत प्रहरीले पक्राउ गर्न आनाकानी गर्दै आएको उनको गुनासो छ । ‘जिल्ला प्रहरीमा पुगेर कागजात देखाउँदा प्रहरी चौकी झुटकीमा जान भन्छन् । तर त्यहाँ पुग्दा हप्काउँछन्, साढे ३ वर्षदेखि यताउता भौतारिँदै छु,’ उनले भने, ‘तरकारी बेचर परिवारको गुजारा चलाउँछु । न्यायका लागि सबैतिर गुहार गरिसके तर कतैबाट सहयोग पाइन ।’ 

जिल्ला अदालतले जारी गरेको ३५ दिने म्यादभित्र हाजिर हुन नआएको र प्रहरीले पनि पक्राउ गर्न नसकेपछि आरोपितहरुको नाममा रहेको सम्पत्ति रोक्का गर्ने गरी न्यायाधीश श्यामविहारी मौर्यको इजलासले १ चैत २०७९ मा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा मुल्तबीमा राखिएको थियो ।

आरोपितमध्ये पाँचु २०५३ सालदेखि नै नियमित रुपमा खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालय कमलपुरमा कामकाज गर्दै आएका छन् । उक्त विद्यालयका प्रधानाध्यापक रविन्द्र यादवले उनी त्यहाँका कार्यालय सहयोगी रहेको बताए । ‘उनीमाथि ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा रहेको विषय मलाई जानकारी छैन्,’ प्रधानाध्यापक यादवले भने, ‘उहाँ नियमित रुपमा विद्यालय आउनुहुन्छ ।’ 

अभियोग पत्रअनुसार पाँचुकी ५३ वर्षीया श्रीमती आनन्दीदेवी, २३ वर्षीया छोरी काजलकुमारी र २१ वर्षीय छोरा राजिवले किसनलाई कुटपिट गर्दै घरबाट निकालेका थिए भने पाँचुले ढाडमा खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले यो विषयमा बुझेर प्रतिक्रिया दिनसक्ने बताए । ‘पुरानो घटना भएकोले बुझ्नुपर्छ,’ उनले भने ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully