न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले बिहीबार रामनारायणलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
What you should know
राजविराज — सप्तरीको राजगढ गाउँपालिकामा भएको हत्या घटनाका एक जना अभियुक्त दुई लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलसहित ७ जना अभियुक्तमध्ये तत्कालीन बेल्ही चपेना गाविस–३ (हाल राजगढ–४) का रामनारायण मण्डल बुधबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका थिए ।
बुधबार र बिहीबार सुनुवाइ हुँदा न्यायाधीश महेन्द्रबहादुर थापा क्षेत्रीको एकल इजलासले रामनारायणलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बिहीबारै उनी धरौटी बुझाएर रिहा भएको अदालतका सूचना अधिकारी उमेशकुमार अर्यालले बताए । ३ साउन २०५५ मा तत्कालीन बेल्ही चपेना गाविस–३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या भएको घटनामा १५ वैशाख ०७८ मा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
३० वैशाख ०७९ मा अभियुक्तमध्येका ओमप्रकाश स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा पदमा निर्वाचित भएपछि त्यसको झण्डै १० महिनामा सो मुद्दा मुलतबीमा राखिएको थियो । अदालतबाट जारी म्यादभित्र हाजिर हुन नआएको र प्रहरीले पनि पक्राउ नगरेपछि अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले १४ फागुन ०७९ मा सो मुद्दा मुलतबीमा राखेको थियो ।
सो मुद्दाका अभियुक्त रामनारायण अदालतमा हाजिर भएर रिहा हुँदा पनि गाउँपालिका अध्यक्ष ओमप्रकाशसहित उनका बुवा तत्कालीन बेल्ही चपेना गाविसका अध्यक्ष गंगाराम मण्डल, सोही ठाउँका रामदेव सदा मुसहर, मनिक शर्मा, बौकाई भनिने बच्चा यादव र भोलिचन सदा मुसहर अझै फरार छन् । अभियोगपत्रअनुसार अध्यक्ष ओमप्रकाशकै बुवा गंगारामले मन्दिरको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमान्दा विवाद भएको थियो ।
