खाद्यले वीरगन्जमा धान खरिदका लागि मंगलबार ३८ टोकन बाँड्यो, पुस ६ देखि खरिद

किसानलाई जनही न्यूनतम २० देखि अधिकतम ४० क्विन्टल धानको टोकन वितरण गरिएको उनले बताए ।

पुस २, २०८२

शंकर आचार्य

Food Ministry distributes 38 tokens for paddy purchase in Birgunj on Tuesday, purchase from 20th December

What you should know

पर्सा — पुस ६ देखि धान खरिदको योजनासहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले यस वर्ष धान खरिदको लागि मंगलबारदेखि किसानलाई टोकन वितरण सुरु गरेको छ ।

मंगलबार पहिलो दिन ३८ किसानले टोकन लगेको शाखा प्रमुख पंकज झाले जानकारी दिएका छन् ।

किसानलाई जनही न्यूनतम २० देखि अधिकतम ४० क्विन्टल धानको टोकन वितरण गरिएको उनले बताए । यसरी टोकन वितरण गरिएपछि दैनिक १० किसानको धान खरिद गरिने झाले बताए ।

‘दैनिक १० किसानको दरले धान खरिद गर्दा मंगलबार वितरण गरिएको टोकनको आधारमा पुस ९ गतेसम्म धान खरिद कार्यको बुकिङ भइसकेको छ,’ उनले भने, ‘खाद्यलाई धान बिक्री गर्न इच्छुक किसानहरुले सहजै धान बिक्री गर्न पाउन भनेर यस्तो विधि अपनाएका हौं ।’

मंगलबार टोकन लिन आउनेमा पर्सा र बाराका विभिन्न पालिकाका किसान रहेका छन् । वीरगन्ज महानगरसँगै कालिकामाई, बिन्दवासिनी, पटेर्वासुगौली गाउँपालिका र बहुदरमाई, पर्सागढी नगरपालिकाका किसान आएका छन् । छिमेकी बाराका परवानीपुर, प्रसौनी, करैयामाई गाउपालिकाका किसानले पनि टोकन लगेका छन् ।

टोकन लिन आउने किसानले सम्बन्धित पालिकाको कृषि शाखाबाट अनिवार्य रुपमा सिफारिश ल्याउनुपर्ने प्रावधान राखिएको छ । यस वर्ष धान खरिदको लागि शाखाले दुई सय ५० किसानलाई टोकन वितरण गर्ने लक्ष्य राखेको झाले बताए । केन्द्रले यस वर्ष वीरगन्ज शाखालाई १० हजार क्विन्टल धान खरिदको कोटा दिएको उनले बताए ।

 यसवर्ष पनि शाखाले सोना मन्सुली धान मात्र धान खरिद गर्ने योजना रहेको छ । सोना मन्सुली धानको समर्थन मूल्य संघीय सरकारले यसवर्ष प्रति क्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा निर्धारण गरेकाले शाखाले पनि सोही मूल्यमा खरिद गर्ने छ ।

गत वर्ष शाखाले ४२ हजार क्विन्टल धान खरिदको कोटा पाएको थियो । तर निजी क्षेत्रबाटै राम्रो मूल्य पाएपछि शाखामा लक्षित परिमाणमा धान बिक्री गर्न आएनन् । यसवर्ष निजी क्षेत्रले हाल दिई रहेको मूल्य भन्दा खाद्यले दिएको मूल्य प्रति क्विन्टल करिब ६ सय रुपैयाँ बढी रहेको छ ।

गत वर्ष ३२ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो धान खरिदको लक्ष्य शाखाको थियो । तर बर्षेनी जिरा मसिनो धान खरिदको कोटा छुट्याइने गरे पनि किसानले यो धान नल्याउने भएकाले यसवर्ष सोना मन्सुली धान मात्रै खरिद गर्न लागेको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully