मलंगवामा नयाँ बसपार्क सञ्चालन, साना सवारीको भने अवरोध

यात्रु चढाउने विषयमा लामो समयसम्म चलेको विवाद समाधान भएर मलंगवामा करोडौं लगानीको नयाँ बसपार्क अन्ततः सञ्चालनमा आएको छ।

पुस १, २०८२

ओमप्रकाश ठाकुर

New bus park opens in Malangwa, small vehicles face obstacles

सर्लाही — सर्लाही सदरमुकाम मलंगवास्थित नयाँ बसपार्क आजबाट नियमित रूपमा सञ्चालनमा आएको छ। तर साना सवारीसाधन भने विरोधमा उत्रिएका छन्। उनीहरूले पनि बसपार्क प्रयोग गर्न पाउनुपर्ने माग राखेका छन्।

निर्माण भएको तीन वर्षपछि मात्रै मंगलबारदेखि बसपार्क सञ्चालनमा आएको हो। बस तथा साना सवारी व्यवसायीबीच यात्रु चढाउने विषयमा विवाद हुँदा नयाँ बसपार्क सञ्चालनमा आउन सकेको थिएन।

दुवै व्यवसायीबीचको विवादका कारण सुविधा सम्पन्न बसपार्क ओझेलमा परेपछि प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले दस दिनअघि सरोकारवालासँग छलफल गरी पुस १ गतेबाट नयाँ बसपार्क सञ्चालनमा ल्याउने निर्णय गरेका थिए। सोहीअनुसार नयाँ बसपार्क सञ्चालनमा आएको हो।

New bus park opens in Malangwa, small vehicles face obstacles

प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार बस नयाँ बसपार्कबाट तथा साना सवारी जिविस चोकस्थित मैदानबाट सञ्चालनमा ल्याइएको छ। तर साना सवारीधनीले यो निर्णय स्वीकार गरेका छैनन्। उनीहरूले साना सवारीलाई पनि बसपार्क जान दिनुपर्ने माग गर्दै विरोध जनाइरहेका छन्।

मलंगवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय नजिक आठ करोड ३१ लाख रुपैयाँ खर्चेर बसपार्क निर्माणको काम तीन वर्षअघि पूरा भएको थियो। तर सुविधायुक्त बसपार्कबाट बस सञ्चालन नगरी वडा नम्बर ९ स्थित मुख्य बजारको बीचमै रहेको कृषि विकास बैंकको जग्गाबाट बस छुट्ने गरेका थिए।

ओमप्रकाश

Link copied successfully