जनमतका बरिष्ठ उपाध्यक्ष बसन्त कुशवाहाले सामाजिक संजाल मार्फत सरकारबाट बाहिरिने सम्मको चेतावनी दिएका छन् ।
धनुषा — मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत प्राप्त नगर्दै सत्ता साझेदार दलहरु बिच खटपट सुरु भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले पुर्णता नपाउँदै सत्ता साझेदार मध्येका तेस्रो ठूलो दल जनमत पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत १० हजार रोजगारी सृजना गर्ने कार्यक्रम लागि बजेटमा विनियोजन गरिए पनि सो मन्त्रालयको जिम्मेवारी अहिले नेकपा समाजवादीका कनिश पटेललाई दिएपछि जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष बसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत सरकारबाट बाहिरिने सम्मको चेतावनी दिएका छन् । यसअघि मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीसमेत रहेका कुशवाहले भागबन्डाको नाममा मुख्यमन्त्री यादवले सो मन्त्रालयको जिम्मेवारी अन्य दललाई दिएर सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पारेको आरोप लगाउँदै आएका छन् ।
कुशवाहले फेसबुकमा लेखेका छन्, 'जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चितता नभए मधेश प्रदेश सरकारबाट हामी अलग हुन तयार हुनुपर्छ ।' मुख्यमन्त्रीमा नियुक्त भएको १० दिनपछि कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार मात्र माओवादी केन्द्रका जवाहर कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी र लोसपा नेपालकी रानीकुमारी तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रीमा नियुक्त गरेका थिए । त्यस्तै, विना विभागीय मन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका कनिश पटेललाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।
