१० किलो ६ सय ५० ग्राम गाँजा बरामद
महोत्तरी — महोत्तरीको गौशालाबाट प्रहरीले मोटरसाइकलमा ल्याउँदै गरेको गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोटरसाइकलमा राखिएको सेतो प्लास्टिकको बोरामा बेरिएको एक पोका र मोटरसाइकलको पछाडि भिरेको कालो झोलामा एक पोका गरी १० किलो ६५० ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार बिहान गौशाला नगरपालिका–८ खाल्टे बजार महादेव मन्दिरनजिक भारतीय नम्बर बीआर ३० डब्लु १३०९ नम्बरको रातो कालो पल्सर मोटर साइकलमा १० किलो ६ सय ५० ग्राम गाँजा लिएर आउँदै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय गौशालाबाट खटेको प्रहरी टोलीले चेकिङका क्रममा महोत्तरी सोनमा–३ का २० वर्षीय हरेन्द्र बैठा र २१ वर्षीय अर्जुन बैठालाई गाँजासहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शेलेन्द्रकुमार भट्टले बताए ।
पक्राउ परेका दुवै जना र उनीहरूबाट बरामद गाँजा इलाका प्रहरी कार्यालय गौशालामा राखेर थप अनुसन्धान भइरहेको छ ।
