मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि सभामुख चयन र मन्त्रीमण्डल विस्तार हुने

सात दलबीचको सहमतिअनुसार सोमबार नै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री यादव लागेका छन् ।

मंसिर २९, २०८२

अजित तिवारी

Madhesh Chief Minister to seek confidence vote before Speaker's election and cabinet expansion

What you should know

जनकपुर — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुअघि नै नयाँ सभामुखको चयन र मन्त्रीमण्डल विस्तार गर्न सात दलबीच सहमति भएको छ ।

सहमतिअनुसार सोमबार नै मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री यादव लागेका छन् । यस्तै, सभामुख चयनका लागि पुस २ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री यादवले भने पुस ४ गते अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेछन् ।

माओवादी केन्द्रका सांसद युवराज भट्टराईले सोमबार नै मन्त्रीमण्डल विस्तारको सम्भावना बढी रहेको बताए । उनले बिहान बसेको सात दलको बैठकको प्रमुख एजेन्डा विश्वासको मत लिने रहे पनि त्योसँगै मन्त्रीमण्डल विस्तार र सभामुखको चयनका विषयमा समेत छलफल भएको बताए । ‘मन्त्रीको नाम टुंगो लगाउन दलहरु आन्तरिक परामर्शमा छन् । मन्त्रालयको बाँडफाटको जिम्मा भने मुख्यमन्त्रीलाई दिइएको छ,' उनले भने, 'सबै कुरा टुंगिए आजै मन्त्रीमण्डल विस्तार हुन सक्छ ।'

सभामुखका लागि भने सात दलले जसपा नेपाललाई दिने सहमति गरिसकेको छ । जसपा नेपालबाट प्रमुख सचेतक रामाशिष यादवलाई सभामुख बनाइने तयारी छ । सोमबार नै प्रदेशसभा सचिवालयमा उपसभामुख बबिता राउत ईसरको अध्यक्षतामा बसेको दलको बैठकमा सभामुख चयनको प्रक्रिया अगाडि बढाउने सहमति भएको जसपाल नेपालका प्रमुख सचेतक यादवले जानकारी दिए । उनले सभामुख चयनका लागि पुस २ गते प्रदेशसभाको बैठक आह्वान गरिएको बताए ।

पदीय अनुकूल व्यवहार नगरेको भन्दै सात दलको प्रस्तावमा मधेशका तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गरिएको थियो । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully