वीरगन्जको बीपी उद्यान अतिक्रमण गरेर बनाइएका पसल हटाइयो

मुख्य सहरको बीपी उद्यान आसपासका फलफूल, तरकारी तथा अन्य अस्थायी पसल हटाएर ७० करोड लागतमा हरियाली पार्क निर्माणको तयारी अघि बढाइएको छ।

मंसिर २८, २०८२

रासस

Shops built encroaching on BP Park in Birgunj removed

वीरगन्ज (पर्सा) — वीरगन्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बीपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । 

मुख्य सहरमा रहेका फलफूल, तरकारी तथा अन्य पसल हटाएर उद्यानलाई थप व्यवस्थित गर्न लागेको महानगर प्रमुख राजेशमान सिंहले बताए । घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ । 'अव्यवस्थित बजारलाई आज बिहान एक्स्काभेटर लगाएर हटाउने काम गरेका छौं । यहाँ व्यापार गर्दै आएकाहरूले सरसमान हटाउने काम गरिरहेका छन्,' महानगर प्रमुख सिंहले भने ।

यहाँ अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल र विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढीले व्यापार गरिरहेका थिए । महानगर प्रमुख सिंहले अब करिब ७० करोड रकम खर्चेर सुन्दर र हरियाली पार्क बनाउने योजना अघि बढाउने बताए । यहाँबाट हटाइएकाहरूका लागि छपकैयाँस्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको उनले जानकारी दिए ।

आज बिहानैदेखि नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा बजार खाली गराइएको हो ।

रासस

Link copied successfully