कल्याणपुरका मेयरको घूस मुद्दामा लगाउ राख्ने आदेश, बयान फेर्नेमाथि दायर मुद्दा पनि सँगै लगिने

साहको मुद्दासँग सम्बन्धित अन्य विषय पनि आएकोले त्यसलाई पनि सँगै लगिने

मंसिर २८, २०८२

विनय आजाद

Order to suspend Kalyanpur mayor's bribery case, case against those who changed their statements to be suspended

What you should know

सिरहा — सिरहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर रामपुकार साहको घूस मुद्दामा अदालतले लगाउ राख्ने आदेश दिएको छ । विशेष अदालतले आइतबार मुद्दामाथि सुनुवाइ गर्दै लगाउ राख्ने आदेश दिएको हो ।

अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको दुई नम्बर इजलासले यस्तो आदेश दिएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । यो भनेको साहको मुद्दासँग सम्बन्धित अन्य विषय पनि आएकोले त्यसलाई पनि सँगै लाने भन्ने हो ।

कल्याणपुर नगरपालिका-६ स्थित भोक्राहामा २० लाख बजेटमा निर्माण भएको नालाका उपभोक्ता समितिसँग एक लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा गत असार ३२ मा मेयर साहलाई अख्तियारको टोलीले नगरपालिकाको कार्यालयबाटै पक्राउ गरेको थियो ।

अख्तियारमा उपभोक्ता समिति अध्यक्ष जसोधा कुमारी र उपभोक्ता समितिले निर्णय नै गरी काम गर्ने जिम्मेवारी दिएका स्थानीय कुशेश्वर साहले संयुक्त रूपमा उजुरी दिएका थिए । तर, कुशेश्वर अडिग रहे पनि जसोधाले भने विशेष अदालतमा कात्तिक ५ मा बकपत्रका क्रममा आफूलाई केही थाहा नभएको भन्दै बयान फेरेकी थिइन् ।

अख्तियारले बयान फेरेको भन्दै मंसिर २६ मा जसोधामाथि पनि एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र जरिवाना सजाय गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेको छ ।

अब यो आदेशसँगै जसोधाको मुद्दा पनि साहको मुद्दासँगै जाने सूचना अधिकारी रेग्मीले बताए । अख्तियारले साहमाथि गत साउन २३ मा विशेष अदालतमा घूस रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धि मुद्दा दायर गरेको थियो । 

आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद माग दाबी गरेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully