वरिष्ठ उपाध्यक्षमा निकटतम् प्रतिद्वन्द्वी प्यानलका उम्मेदवार निर्वाचित
What you should know
सिरहा — रामनगर मिर्चैया उद्योग वाणिज्य संघको अध्यक्षमा भरत महासेठ निर्वाचित भएका छन् । महासेठले ७ सय ३६ मत ल्याएर जित हासिल गरेको निर्वाचन अधिकृत प्रशान्त साहले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी राजकुमार साह ५ सय ४४ मत प्राप्त गरी दोस्रो भए ।
यस्तै, अध्यक्षका अर्का उम्मेदवार हरिकिशोर महतोले ५ सय ६ मत प्राप्त गरेको निर्वाचन अधिकृत साहले बताए । संघको वरिष्ठ उपाध्यक्षमा भने निकटतम् प्रतिद्वन्द्वी प्यानलका देवकृष्ण साह विजय भएका छन् ।
साहले ६ सय ५७ मत प्राप्त गर्दा प्रतिस्पर्धी अरुणकुमार सिंहले ६ सय १२ मत पाए । हरिकिशोर प्यानलका प्रमोद साहले भने ५ सय ३ मत प्राप्त गरे ।
यगैगरी, प्रथम उपाध्यक्षमा दिनेश साह, उपाध्यक्षमा शम्भू साह, महासचिवमा राकेश साह, कोषाध्यक्षमा वीरेन्द्र साह, सचिवमा जितेन्द्र साह निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत साहका अनुसार, सदस्यहरूमा मनोज साह, मखवुल मन्सुरी, जोगिन्द्र सुडी, आनन्द सिंह, राधिका श्रेष्ठ, रामभरोष यादव, मनोज साह र गंगा साह सुडी निर्वाचित भए ।
अध्यक्ष चुनिएका महासेठ यसअघिको हरिशंकर साह नेतृत्वको संघको कार्यसमितिमा सचिव थिए । महासेठको प्यानललाई नेपाली कम्युनिष्ट पार्टी र जनमत पार्टीको समर्थन थियो ।
यस्तै, राजकुमार साहको प्यानललाई कांग्रेस, एमाले, जसपा नेपाल र राप्रपा गरी चार दलको समर्थन थियो । हरिकिशोर महतो नेतृत्वको प्यानल भने स्वतन्त्र चुनाव लडेको थियो ।
संघको १५ सदस्यीय कार्यसमितिका लागि गत शुक्रबार चुनाव भएको थियो ।
चुनावमा मिर्चैया, कर्जन्हा र कल्याणपुर नगरपालिकाका २१ सय ९ मतदातामध्ये १८ सय ८१ मतदाताले मतदान गरेका थिए ।
