रेडक्रसको एम्बुलेन्स गाँजा ओसारपसारमा प्रयोग

नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको एम्बुलेन्समा राखिएको साढे ५१ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

मंसिर २१, २०८२

ओमप्रकाश ठाकुर

Red Cross ambulance used to transport marijuana

सर्लाही — सर्लाहीमा गाँजा ओसारपसारका लागि बिरामी बोक्ने एम्बुलेन्स प्रयोग हुने गरेको खुलेको छ ।

सर्लाही प्रहरीले हरिवनबाट लागुऔषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएपछि यसको ओसारपसारमा एम्बुलेन्स प्रयोग भएको खुलेको हो । हरिवन नगरपालिका–५, घुर्कौलीस्थित हिरालाल टोलमा ज १ च १५५८ नम्बरको एम्बुलेन्सको पछाडिपट्टिको भागमा बोराभित्र लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको सो एम्बुलेन्समा राखेर गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठा बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादव पक्राउ परेका छन् । बरामद गाँजाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । शुक्रबार मात्र  प्रहरीले लालबन्दी नगरपालिका–११, हीरापुरबाट ५२ केजी गाँजासहित एउटा पिकअप भ्यानसहित एक जनालाई नियन्त्रणमा लिएको थियो । 

जिल्लाको चुरे क्षेत्रमा व्यवसायीक रुपमा गाँजा खेती हुँदै आएको छ । यहाँ उत्पादित गाँजा बिक्रीका लागि भारत पठाउने गरिएको छ ।

ओमप्रकाश

Link copied successfully