अवरुद्ध पूर्वपश्चिम राजमार्ग प्रहरीले खुलायो

प्रहरीमाथि पीडितका आफन्तले ढुंगामुढा गर्न थालेपछि केहीबेर स्थिति तनावपूर्ण भएको थियो ।

मंसिर २०, २०८२

शिव पुरी

Police reopen blocked East-West Highway

What you should know

रौतहट — शनिबार दिउँसोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग झण्डै डेढ घण्टापछि खुलेको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुलनजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले क्षतिपूर्तिको माग राखेर राजमार्ग बन्द गराएका थिए ।

प्रहरीमाथि पीडितका आफन्तले ढुंगामुडा गर्न थालेपछि केही बेर स्थिति तनावपूर्ण भएको थियो । चन्द्रनिगाहपुरका स्थानीयलाई समेत ढुंगा लागेको थियो । स्थानीय र प्रहरी मिलेर अवरुद्ध सडक खुलाएका हुन् ।

पीडित पक्ष र सरोकारवालाबीच क्षतिपूर्तिका लागी भएको छलफलमा सहमति जुट्न नसकेपछि प्रहरीले सडक अवरुद्ध गर्न बसेकालाई सम्झाएको थियो । त्यस क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङमाथि नै प्रदर्शनकारीले दुर्व्यवहारको प्रयास गरेका थिए । कानुनी उपचार खोज्न र सहमतिमा आउन डीएसपी लाबुङले पटकपटक अनुरोध गरे पनि उनीहरुले नमानेपछि प्रहरीले सामान्य बल प्रयोग गर्न खोजेको थियो । तर प्रदर्शनमा उत्रेकाहरुले अन्धाधुन्दा ढुंगामुडा गर्न थालेपछि स्थिति तनावग्रस्त बन्यो ।

प्रदर्शनकारीले हानेको ढुंगा लागेपछि स्थानीयले प्रहरीलाई साथ दिएका थिए । त्यसपछि प्रदर्शनकारीहरु तितरबितर भए ।

चन्द्रपुर नगरपालिका–६ स्थित मोथियाही पुलनजिक चपुर–गौर खण्डमा शुक्रबार साँझ गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा बृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो । घटनापछि मृतकका परिवार र बस सञ्चालकबीच क्षतिपूर्तिको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । पीडितले कानुनले तोकेभन्दा बढी रकम मागेपछि सहमति हुन सकेको थिएन । 

मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार पटेलका छोरा १२ वर्षीय युवराजको निधारमा, ११ वर्षकी छोरी आकृतिको खुट्टा र टाउकोमा तथा अर्का १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ ।

प्रहरीले चन्द्रपुर–८ घर भएका बसका चालक अमृतबहादुर विकलाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले पीडित पक्षसित वार्ता गरेर बाटो खुलाउने प्रयास गरे पनि सहमति हुन नसकेको बताए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully