बघिनीले तीन डमरुलाई अन्यत्र लिएर गएको र एउटा भने त्यही समूहबाट छुट्टिएको हुन सक्ने प्राविधिकले अनुमान गरेका छन् ।
What you should know
पर्सा — पर्सागढी नगरपालिकास्थित सबैया साझेदारी वन क्षेत्रमा बाघको एउटा डमरु फेला परेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन कार्यालयको प्राविधिक टोलीले बिहीबार अनुगमनका क्रममा उक्त डमरु फेला पारेको हो ।
कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले टोलीले बिहीबार बाघ रहेको सम्भावित क्षेत्रको अनुमगनका क्रममा एउटा डमरु देखेको बताए । ‘टोलीले उक्त डमरुको तस्बिरसमेत खिचेको छ,’ उनले भने, ‘सो क्षेत्रमा एउटा बघिनीले चार वटा बच्चा स्याहारिरहेको अनुमान प्राविधिक टोलीले गरेको छ ।’
एक महिनायता यहाँ बाघ रहेको अनुमानसहित बाघको निगरानी गर्न कोषको टोली बुधबार क्यामरा जडान गर्न गएको थियो । तर टोली त्यहाँ पुग्दा बाघले ठूलो आवाजसहित कराएपछि टोली क्यामरा जडान नगरी फर्केको थियो । बिहीबार सोही टोली आवश्यक तयारी तथा उपकरणसहित निगरानीमा जाँदा डमरु फेला परेको हो ।
अन्य तीन डमरु र माउसँग एउटा डमरु छुट्टिएको प्राविधिकले अनुमान गरेका छन् । 'माउ बघिनीले अन्य डमरुलाई अन्यत्र लिएर गएको र एउटा भने त्यही समूहबाट छुट्टिएको हुन सक्छ,' प्रमुख अहमदले भने ।
सोही स्थानमा सोमबार घाँस काट्न गएकी स्थानीय शान्तामाया श्रेष्ठलाई बाघले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो । बघिनीले यस क्षेत्रमा आफ्ना डमरु स्याहारिरहेको र त्यस क्रममा त्यहाँ मानव उपस्थिति हुँदा उसले आक्रमण गर्ने गरेको हुन सक्ने प्राविधिकले बताएका छन् ।
'बघिनीले डमरु स्याहारिरहेकाले उसलाई डार्ट गरी अन्यत्र लग्न उचित देखिन्न,' अहमदले भने, 'प्रभावित क्षेत्रमा मानव उपस्थिति हुन नदिनका लागि सूचना तथा रातो निसानसहितको संकेत राखिएको छ ।' बाघ रहेको क्षेत्रमा आवश्यकता पर्दा निगरानी गर्न हात्ती नियमित रुपमा राख्नुपर्ने भएकाले पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई हात्ती केही दिन उपलब्ध गराइदिन आग्रह गरिएको उनले बताए ।
