मधेसमा सात दल सहमतिनजिक, आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने

मुख्यमन्त्रीमा कांग्रेस र लोसपाको दाबी कायम रहे पनि सात दलले आफूहरू सहमतिनजिक पुगेको नेताहरूले बताएका छन्।

मंसिर १९, २०८२

अजित तिवारी

Seven parties in Madhesh close to agreement, will submit demands to the Chief Minister today

जनकपुर — मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलीय गठबन्धन सहमतिनजिक पुगेको छ । मुख्यमन्त्रीमा कांग्रेस र लोसपाको दाबी कायम रहँदा पनि सात दलले आफूहरू सहमतिनजिक पुगेको नेताहरूले बताएका छन्।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव र लोसपाका जितेन्द्र सोनलको दाबी कायम रहेको बताए । ‘उहाँ दुवै जनाको दाबी अझै छँदैछ । तर, दुवै जनाले सात दलको गठबन्धनले गर्ने निर्णय मान्य हुने भनेका छन्,’ यादवले भने, ‘लगभग हामी सहमतिनजिक नै छौँ । आज फेरि बैठक बसेर टुङ्ग्याउँछौँ ।’

सात दलीय गठबन्धनले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सहमतिमा पुगेको बैठकमा सहभागी एक सांसदले बताए । ‘कांग्रेसलाई सरकारको नेतृत्व दिएर अगाडि बढ्ने लगभग सहमति भइसकेको छ,’ ती सांसदले भने, ‘बाहिर ल्याउँदा एमालेलगायतले खेल्न सक्ने भनेर गोप्य राखिएको छ ।’

बिहीबार अबेर रातिसम्म सात दलको बसेको बैठकपछि उत्साहित भएर बाहिर निस्केका नेता–सांसदले ‘सबै विषय टुंगिएको र शुक्रवार दिउँसो ३ बजे प्रदेश प्रमुखकहाँ सरकार बनाउन दाबी पेस गर्ने’ प्रतिक्रिया दिएका थिए ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिनु नभए संविधानको धारा १६८ को २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु भनेर जारी गरेको परमादेशअनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जारी गरेको पत्रमा शुक्रवार साँझ ५ बजेसम्म सरकारका लागि दाबी पेस गर्न समय दिइएको छ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully