एक करोड लगानीको पम्प स्टेसन ६ वर्षदेखि अलपत्र

डिप बोरिङ परीक्षण गर्दा मोटर नै जलिसकेको छ भने त्यहाँको योजना सफल नहुने देखेर फिल्टर पनि झिकिसकेको छ ।

मंसिर १९, २०८२

विद्यानन्द राम

Pump station worth Rs 10 million has been abandoned for 6 years

What you should know

राजविराज — ट्यांकीमा पानी आपूर्तिका लागि नेपाल खानेपानी संस्थान शाखा कार्यालय राजविराजले एक करोडभन्दा बढी रुपैयाँ खर्चेर सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा औद्योगिक क्षेत्र पम्प स्टेसन निर्माण गर्‍यो । तर, ६ वर्षमा एक लिटर पनि खानेपानी आपूर्ति हुन सकेको छैन ।

संस्थानले २०७७/०७८ मा त्यहाँ ३६ लाख ३३ हजार ४ सय ७६ रुपैयाँमा डिप बोरिङ र ०७८/०७९ मा ५९ लाख २ हजार ८ सय ७१ रुपैयाँमा पम्प अपरेटर क्वाटर, ट्वाइलेट, सेप्टिक ट्याङ्क तथा कम्पाउन्ड वाल निर्माण गरेको थियो । संस्थानले ट्रान्सफर्मर जडानसहित विद्युतीकरणमा पनि ६ लाख रुपैयाँ खर्च गरेको छ । तर, कुल एक करोड एक लाख ३६ हजार ३ सय ४७ रुपैयाँ खर्चेर निर्माण गरिएको पम्प स्टेसन अझै सञ्चालन हुन सकेको छैन ।

डिप बोरिङ परीक्षण गर्दा मोटर नै जलिसकेको छ भने त्यहाँको योजना सफल नहुने देखेर फिल्टर पनि झिकिसकेको छ । पम्प स्टेसन रेखदेख गर्न ०७८ पुस १४ मै ज्यालामा नियुक्त गरिएका एकजना कर्मचारी भने घाम तापेरै तलब खाइरहेका छन् ।

तीन हजार चार सय ८ जना उपभोक्ता रहेको संस्थानमा अहिले संस्थानकै परिसर, पडरिया, खर्साल र नेपाल टेलिकम परिसरमा रहेका डिप बोरिङबाट दैनिक ४० लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । तर, आपूर्ति भएका पानीबाट पनि २५ प्रतिशत फिल्टर गर्दा नै आइरनयुक्त खेर जाँदा ३२ लाख लिटर मात्रै खानेपानीका लागि वितरणयोग्य रहन्छ । अहिले बिहान, दिउँसो र बेलुका गरी दैनिक साढे ५ घण्टा धारामा छोड्दै आए पनि उपभोक्ताका लागि पर्याप्त होइन । उपभोक्ताले धारामा पानी छोड्ने समय बढाउनका लागि माग गरिरहँदा पनि निर्माण भइसकेको पम्प स्टेसन सञ्चालन गर्न सकेको छैन । 

संस्थान राजविराजका प्रमुख दीपेन्द्र देवले निर्माणाधीन मलेठ–राजविराज सडक खण्ड के–कति लेनमा विस्तार हुने विषय यकिन नभएका कारण पाइप ओछ्याउन नसकिएको बताए । ‘पाइप ओछ्याउन नसक्दा नै पम्प स्टेसन सञ्चालन गर्न नसकेर ट्यांकीसम्म पानी आपूर्ति गर्न सकिएको छैन,’ उनले भने, ‘हामी यस वर्ष पाइप ओछ्याएर सञ्चालन गर्ने प्रयासमा छौं ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully