गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक ठोक्किँदा बृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।
रौतहट — रौतहटको चन्द्रनिगाहपुरस्थित मोतियाही पुलनजिक शुक्रबार भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । तीनजना घाइते छन् ।
चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक ठोक्किँदा बृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते पटेलको बायाँ खुट्टा, शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
मोटरसाइकलमा पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार मृतक पटेलका छोरा १२ वर्षीय छोरा युवराज पटेलको निधारमा चोट लागेको छ । छोरी ११ वर्षीया आकृति पटेलको बायाँ खुट्टा र टाउकोमा चोट लागेको जनाइएको छ । पटेलका १५ वर्षीय छोरा प्रिन्सकुमार पटेल बायाँ खुट्टा, बायाँ हात र निधारमा चोट लागेको छ ।
उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । चन्द्रपुर–८ घर भएका बसका चालक अमृतबहादुर बिकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
