काटेको धान रुँग्न खेतमा बसेका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

बिहीबार बिहान उनको शव हात्तीले किचेर मृत्यु भएको अवस्थामा फेला परेको थियो ।

मंसिर १८, २०८२

विद्यानन्द राम

Elderly man dies after being attacked by elephant while grazing harvested rice in field

राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिप्रा पूर्वमा काटेको धान रुँग्न राति खेतमा पहरा बसिरहेका एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

बुधबार धान काट्दाकाट्दै रात परेपछि ६५ वर्षका नारायण खंग खेतमा बनाएको झुप्रोमा बसिरहेका बेला जंगली हात्तीको आक्रमणमा परेका हुन् । बिहीबार बिहान उनको शव हात्तीले किचेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

घरदेखि दुई किलोमिटरको दुरीमा रहेको खेतको झुप्रोमा उनी बसिरहेको बेला हात्तीले आक्रमण गरेको थियो । झुप्रो तोडफोड गर्न थालेपछि उनी भाग्ने प्रयाससमेत गरेका थिए । झुप्रोदेखि केही दुरीमा उनको शव फेला परेको हो । हात्तीले झुप्रो भत्काउँदै लखेटेर उनीमाथि आक्रमण गरेको मृतककी पत्नी जानकीदेवीले बताइन् । ‘बिहान ट्याक्टरैबाट धान घर लग्ने भन्दै उहाँ खेतमै पहरा बसेर हामीलाई घर पठाइदिनुभयो,’ उनले भनिन्, ‘राति हात्ती आउन सक्छ भनेर कसैले सोचेका थिएनौं ।'

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully