जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै खुला सीमानाकामा सुक्ष्म रुपमा जाँच गर्न निर्देशन दिएको हो ।
राजविराज — सप्तरी प्रशासनले सीमानाकाबाट अवैध रुपमा विदेशी नागरिक प्रवेश गर्नसक्ने भन्दै निगरानी बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै खुला सीमानाकामा सुक्ष्म रुपमा जाँच गर्न निर्देशन दिएको हो । सूचनामा ७८ किलोमिटर सीमानाकाबाट अनुमति लिएर आए/नआएका विदेशी नागरिकलाई पहिचान खुल्ने नागरिकता तथा अन्य परिचयपत्रका आधारमा अभिलेख राखेर आवतजावत गर्ने व्यवस्था मिलाउन नेपाल र सशस्त्र प्रहरीलाई भनिएको छ ।
जिल्लामा रहेका विदेशी नागरिकले कानुनविपरीत गर्नसक्ने गतिविधिलाई निरन्तर निगरानीका लागि सघन रुपमा सुरक्षा गस्ती गर्न, लुकिछिपी बसेका विदेशी नागरिकको सूचना संकलन गरी कानुनी दायरामा ल्याउन पनि सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइएको हो ।
स्थानीयसँग पनि विद्यालयमा कुनै किसिमको शंकास्पद विद्यार्थी पढाईको बहानामा भर्ना हुन आउँदा प्रहरीमा जानकारी गराउन, स्थानीय तहलाई विदेशी नागरिक कानुनविपरीत प्रवेश गर्नसक्ने विषयमा जनचेतनाका कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको छ ।
होटल व्यवसायीलाई बास बस्न आउने सम्पूर्ण आगन्तुकसँग परिचय खुल्ने कागजात लिएर मात्र बास बस्न दिने व्यवस्था मिलाउन, विदेशी धर्मको प्रचारप्रसार तथा धर्मविरोधी गतिविधि देखिए सूचना दिनका लागि राजनीतिक दल, नागरिक अगुवा, जनप्रतिनिधि, समाजसेवी र स्थानीयसँग आग्रह गरिएको छ ।
विदेशी नागरिकबाट हुनसक्ने कानुन विपरीतका गतिविधिबारे सूचना सम्प्रेषणका लागि नेपाल पत्रकार महासंघलाई समेत आग्रह गरिएको छ ।
