विश्वासको मतका लागि प्रदेशसभा बैठक बस्दै

राप्रपाकी मन्त्री बिच्छाको सांसद पद गुम्ने, सात दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने

मंसिर १७, २०८२

अजित तिवारी

Provincial Assembly meeting to hold vote of confidence

जनकपुर — २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले बुधवार बिहान बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।

विश्वासको मतका लागि बिहान साढे ६ बजे बोलाइएको प्रदेशसभा बैठकअघि अहिले केहीबेरमा कार्य परामर्श समितिको बैठक बस्नेछ ।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले कार्य परामर्श समितिको बैठकमा सहभागी हुन प्रदेशसभा सचिवालय आइपुगेको बताए । ‘हामी प्रदेशसभा सचिवालय पुगिसकेका छौँ,’ यादवले भने, ‘केहीबेरमा कार्य परामर्श समितिको बैठक सुरु हुनेछ ।’

कार्य परामर्श समितिले प्रदेशसभा बैठकको कार्यसूची तय गर्छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकको कार्यसूचीमा विश्वासको मतलाई मात्र समावेश गरिनेछ । परमादेशको पत्र मंगलबार दिउँसो ३ बजे मात्र पाएको भन्दै मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बुधवार २ बजेको समय तोकिदिन प्रदेशसभा सचिवालयलाई पत्र लेखेको थियो । तर, सचिवालयले बुधवार बिहान साढे ८ बजे नै प्रदेशसभाको बैठक डाकेको छ ।

कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले सात दलले मुख्यमन्त्री यादवको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए । ‘सात दलले विश्वासको मतको विपक्षमा मतदान गर्नेछ । हामी एकसाथ छौँ,’ उनले भने ।

आजको बैठकबाट राप्रपाकी सांसद कञ्चन बिच्छाको सांसद पद गुम्ने छ। पार्टीको निर्णयबिनै एमाले सरकारमा सहभागी भएर वन तथा वातावरण मन्त्री बनेकी बिच्छालाई कारबाही गर्दै राप्रपाले प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा यसअघि नै पत्र पठाइसकेको छ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully