मुख्यमन्त्री नपुग्दा प्रदेशसभा बैठक विलम्ब

प्रदेशसभा बैठकमा आउन ढिलाइ गरेका मुख्यमन्त्री यादव जनकपुरस्थित सरकारी निवासमै छन्।

मंसिर १७, २०८२

अजित तिवारी

Provincial Assembly meeting delayed as Chief Minister fails to arrive

जनकपुर — विश्वासको मत लिन प्रदेशसभा सचिवालयले तोकेको समयभन्दा करिब पौने दुई घण्टा बितिसक्दा मुख्यमन्त्री सरोजकुमार यादव प्रदेशसभामा नपुग्दा बैठक बस्न विलम्ब भएको छ।

लोसपाका सांसद उपेन्द्र महतोका अनुसार विश्वासको मत प्रस्तुत गर्ने मुख्यमन्त्री यादव नै प्रदेशसभामा नआइसकेकाले बैठकमा ढिलाइ भएको हो। मुख्यमन्त्री यादव भने अहिले जनकपुरस्थित सरकारी निवासमै छन्।

प्रदेशसभाको बैठक बस्नुअघि बसेको कार्य परामर्श समितिको बैठकले विश्वासको मत लिने भने कार्यसूची तय गरिसकेको छ। मुख्यमन्त्री यादव प्रदेशसभामा नपुग्दा उनको प्रतीक्षामा सबै छन्।

मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले दिएको परमादेशमा २४ घण्टाभित्र विश्वासको मत लिन भनिए पनि आफूले मंगलबार दिउँसो ३ बजे मात्र पत्र प्राप्त गरेकाले विश्वासको मतका लागि प्रदेशसभाको बैठक बुधवार दिउँसो २ बजे बोलाउन प्रदेशसभा सचिवालयलाई पत्र लेखेको थियो। तर, प्रदेशसभा सचिवालयले बुधवार बिहान साढे ८ बजे नै विश्वासको मतका लागि प्रदेशसभा बैठकको समय तोकेको थियो।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully