आरोग्य निकेतनका अध्यक्ष डा. गौराङ मिश्रले जनकपुरमै सुविधा सम्पन्न क्याथ ल्याव सञ्चालनमा आएपछि मुटु रोगका कारण उच्च रहेको मृत्युदर रोक्न सहयोग पुग्ने बताए ।
जनकपुर — मुटु रोगीलाई एयरलिफ्ट गर्नुपर्ने बाध्यता व्यहोर्दै आएको जनकपुरमा पहिलो पटक क्याथ ल्याव सेवा सुरु भएको छ । यहाँको आरोग्य निकेतन अस्पतालमा मंगलबारदेखि क्याथ ल्याबको शुभारम्भ गरिएको छ ।
अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोग्य निकेतनका अध्यक्ष डा. गौराङ मिश्रले जनकपुरमै सुविधा सम्पन्न क्याथ ल्याव सञ्चालनमा आएपछि मुटु रोगका कारण उच्च रहेको मृत्युदर रोक्न सहयोग पुग्ने बताए । उनले क्याथ ल्याबसँगै आधुनिक आइसियु र सिसियु कक्ष पनि सञ्चालनमा आएको जानकारी दिए ।
‘गम्भीर मुटु रोगीलाई तत्कालै एयरलिफ्ट गरेर काठमाडौँ वा अन्यत्र पठाउनुपर्ने बाध्यता थियो,’ डा. मिश्रले भने, ‘हृदयाघात भएका बिरामीले अब जनकपुरमै सघन उपचार पाउनेछन् ।’ आरोग्य निकेतन अस्पतालमा मुटु रोग विशेषज्ञ डा. अमित सिंह र डा. राजेश साहको टिमले उपचार गर्ने अस्पतालले जनाएको छ ।
