विपक्षी बेन्च पूरै खाली, सात दल बैठक बाहिर
जनकपुर — विश्वासको मत लिने कार्यसूचीअनुसार बुधबार बिहान बसेको प्रदेशसभाको बैठकमा अनुपस्थित भएका मुख्यमन्त्री सरोजकुमार यादव उपस्थित भएपछि प्रदेशसभाको अर्को बैठक फेरि सुरु भएको छ ।
बैठक सञ्चालन गरिरहेकी उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्न अनुमति दिएकी छिन् । मुख्यमन्त्री यादवले विश्वासको मत दिनका लागि दलहरूसित आग्रह गरेका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा विपक्षी सात दल भने प्रदेश सभाको बैठकमा सहभागी भएका छैनन् । विपक्षी बेन्च पूरै खाली छ । बैठकमा एमालेका सांसद मात्र उपस्थित छन् । राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी विमला अन्सारी तुरुन्नम पनि बैठकमा उपस्थित छन् ।
यसअघि, बुधबार बिहान बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादव उपस्थिति नहुँदा बैठक स्थगित गरिएको थियो ।
