विश्वासको मत नपाउने भएपछि मुख्यमन्त्री यादवले दिए राजीनामा

उनी  २२ दिनका लागि मधेश प्रदेशका मुख्यमन्त्री भए । यादवले भने, 'मैले कुर्सीसँग होइन, सांसदसँग विश्वासको मत लिने हो । तर, उहाँहरू संसद् छोडेर जानुभयो ।'

मंसिर १७, २०८२

अजित तिवारी

Chief Minister Yadav resigns after losing confidence vote

जनकपुर — २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पाउने छाँट नदेखेपछि उनले मुख्यमन्त्री पदबाट प्रदेशसभाको बैठकमा नै राजीनामा गरेका छन् ।

यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

बर्दिबासको पानस कटेजमा झिसमिसेमै मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेपछि विवाद बढेको थियो । त्यही निहुँमा संघीय सरकारले मधेशका तत्कालीन प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेर जनकपुरका सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा विपक्षी सात दल भने प्रदेश सभाको बैठकमा सहभागी भएनन् । विपक्षी बेन्च पूरै खाली थियो । बैठकमा एमालेका सांसद मात्र उपस्थित छन् । राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारी तुरुन्नम पनि बैठकमा उपस्थित थिइन् ।

'मेरो नियुक्ति नै बाध्यात्मक छ । त्यसैले विश्वासको मत लिने वा नलिने सवाल रहँदैन,' मुख्यमन्त्री यादवले राजीनामाअघि भने,'जति दिन सरकारमा रहयौं, जनताको काम मात्र गर्‍यौं ।' उनी  २२ दिनका लागि मधेश प्रदेशका मुख्यमन्त्री भए । यादवले भने, 'मैले कुर्सीसँग होइन, सांसदसँग विश्वासको मत लिने हो । तर, उहाँहरू संसद् छोडेर जानुभयो ।'

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully