कारबाट एक क्विन्टलभन्दा बढी गाँजा बरामद, दुई पक्राउ

कारबाट १० वटा पोकामा लुकाइराखिएको १ सय ४ किलो गाँजा बरामद

मंसिर १६, २०८२

शंकर आचार्य

More than a quintal of marijuana seized from car, two arrested

पर्सा — प्रहरीले  गाँजा तस्करीमा प्रयोग गरिएको कार र ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तान रहेका छन् ।

पटेर्वासुगौली गाउँपालिका–२ रंगपुरबाट प्रहरीले उनीहरूलाई सोमबार दिउँसो ३ बजे पक्राउ गरेको हो । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइराखिएको १ सय ४ किलो गाँजा बरामद भएको हो ।

भिम स्याङ्तानले कार चलाइरहेका थिए । उनीहरूलाई कार तथा गाँजासहित नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully