'विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेशमा ज-जसलाई मुख्यमन्त्री बनाएको छ । ती सबै दलले मलाई सघाउँछ,' उनले भने ।
काठमाडौँ — मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिने भनिए पनि आफूले परमादेशको पत्र मंगलबार ३ बजेमात्र पाएकाले सोही आधारमा बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको बताए । उनले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र समेत पठाइसकिएको जानकारी दिए ।
'विश्वासको मत मैले नै पाउँछु । एमालेले मधेशमा ज-जसलाई मुख्यमन्त्री बनाएको छ । ती सबै दलले मलाई सघाउँछ,' उनले भने ।
सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो ।
यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेका थिए ।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।
