कमला-कञ्चनपुर राजमार्ग विस्तार : चोहर्वाका स्थानीय आन्दोलित

भत्काइएका पार्क, बस बिसौनीसहित दुईतर्फी नाला बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ ।

मंसिर १६, २०८२

विनय आजाद

Kamala-Kanchanpur Highway Expansion: Locals of Choharwa Protest

सिरहा — सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग विस्तारका क्रममा भत्काइएका संरचना र नालालगायत निर्माण गर्न मागसहित चोहर्वा नयाँ चोकका स्थानीय आन्दोलित बनेका छन् ।

स्थानीयले मंगलबार राजमार्ग नै अवरुद्ध पार्दै भत्काइएका पार्क, बस बिसौनीसहित दुईतर्फी नाला बनाउनुपर्ने माग गरेका हुन् । यस्तै, सिरहा सदरमुकाम जाने बाटो पनि यही भएका कारण सवारीसाधनको अत्यधिक चाप हुने भन्दै चोहर्वामा ६ लेन राजमार्ग र अन्डरपास पनि निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

आफूहरूले कमला कञ्चनपुर सडक योजना कार्यालय, मिर्चैया र निर्माण कम्पनीलाई पटकपटक यसबारे गुहार्दासमेत सुनुवाइ नभएपछि बाध्य भएर सडकमा आएर आन्दोलन गर्नुपरेको स्थानीय अमरनाथ यादवले बताए । 'पुराना संरचना भत्किँदा चोक उजाडजस्तो बनेको छ, नाला भएन भने यो चोक बर्खामा डुबानमा पर्छ,' उनले भने, 'यहाँ सवारीसाधनको चाप हुन्छ, त्यसैले सिक्स लेन राजमार्ग र अन्डरपास आवश्यक छ ।'

आफूहरूको माग सम्बोधन नभए कडा संघर्षमा जाने चेतावनीसमेत स्थानीयले दिएका छन् । यता, योजना कार्यालय र निर्माण कम्पनीले भने आफूहरू स्वीकृत डिजाइन र इस्टिमेटभन्दा बढी काम गर्न नसक्ने बताउँदै आएको छ ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully