उपभोक्ता समितिका प्रतिनिधिसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा मेयर साह कार्यालयबाटै रंगेहात पक्राउ परेका थिए ।
What you should know
सिरहा — सिरहाको कल्याणपुर नगरपालिकाका तत्कालीन मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको मुद्दाको पेसी स्थगित छ ।
काठमाडौंस्थित विशेष अदालतमा सोमबारका लागि तोकिएको पेसी स्थगित भएको हो । अदालतका अनुसार, आज यो मुद्दा सुनुवाइका लागि दुई नम्बर इजलासमा परेको थियो । तर, प्रतिवादीको निजी र सरकारी वकिलकै मागबमोजिम पेसी स्थगित भएको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए ।
सरकारी वकिलले भने प्राविधिक कारणले गर्दा पेसी स्थगित गरेको दाबी गरेको छ । विशेष सरकारी वकिलको कार्यालयकी सूचना अधिकारी सरिता पोखरेलले भनिन्, 'टेक्निकल कारणले गर्दा स्थगित गर्नुपरेको हो ।'
यो मुद्दा यसअघि मंसिर ३ मा पनि सुनुवाइका लागि पेसी चढेको थियो । तर, प्रतिवादीको निजी वकिलको मागमा पेसी सरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई गत असार ३२ गते वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानपछि साहले भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुसस्वरुप लिएको पुष्टि भएको आरोपसहित अख्तियारले गत साउन २३ मा उनीमाथि विशेष अदालतमा घुस रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धि मुद्दा दायर गरेको थियो ।
आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद माग दाबी गरेको छ ।
