जागिरबाट हटाएको निहुँमा उद्योग म्यानेजरको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक

हत्या आरोपमा वीरगन्ज महानगरपालिका–२२ मनियारी घर भई उद्योगमा कार्यरत २२ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह तुराहालाई पक्राउ गरिएको हो ।

मंसिर १४, २०८२

लक्ष्मी साह

Murder of industrial manager on the pretext of being fired from job, two arrested persons made public

What you should know

बारा — प्रसौनी गाउँपालिका–६ भलुही चोकस्थित किरण बेभरेज पानी उद्योगका म्यानेजर रामकिशोर सिंहको हत्या आरोपमा पक्राउ परेका उद्योगकै सवारी चालकसहित दुई जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

सर्लाहीको धन्कौल गाउँपालिका २ धन्कौल गाउँका ५० वर्षीय सिंहको गत बिहीबार राति उद्योगबाट केही पर लगेर घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उनको शव शुक्रबार बिहान भेटिएको थियो । 

हत्या आरोपमा वीरगन्ज महानगरपालिका–२२ मनियारी घर भई उद्योगमा कार्यरत २२ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रमोद साह तुराहालाई पक्राउ गरिएको हो । उनीहरु दुवै जना भारततिर भाग्ने क्रममा पर्साको पश्चिमी समिावर्ती क्षेत्र भिस्वा बजार आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक खेम नेपालले बताए । 

पक्राउ परेका यसअघि राम सोही उद्योगको पानी बिक्रीमा प्रयोग हुने गाडीका चालक थिए । ६ वर्षअघि गढीमाई मेलामा गाडीको ‘क्लोचप्लेट’ बिगारेको भन्दै म्यानेजर सिंहले उनीमाथि कडा व्यवहार गर्दा दुबै बीच विवाद समेत भएको थियो । त्यसपछि चालकको काम छाडेर उनी घरमै बसेका थिए । केही समयपछि फेरि उनी उद्योगको काममा गर्न थालेका थिए । 

रामले उद्योगले तोकेको भन्दा ५ देखि १० रुपैयाँ बढीमा बिक्री गरेर उक्त पैसा आफ्नै लागि प्रयोग गरी उद्योगको बद्नाम र व्यापारीलाई ठगी गरेको आरोपमा म्यानेजर सिंहले फेरि हटाएका थिए । उद्योगले तोकेको प्रतिप्याकेट ११० रुपैयाँ मूल्यमा ५ देखि १० रुपैयाँ बढी लिएर बेचेको पाइएपछि रामलाई जागिरबाट फेरि हटाएका थिए ।

सोही रिसीइबीकै कारण रामले आफ्नै साथीसित मिलेर म्यानेजर सिंहको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक नेपालले बताए । ‘नोकरीबाट हटाएकै निहुँमा रामले म्यानेजर सिंहलाई आफ्ना साथी तुराहाको सहयोगमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक नेपालले भने, ‘पक्राउ परेका राम र म्यानेजर सिंह बीच ६ वर्षदेखि मनमुटाव भएको देखिन्छ ।’

उनीहरुले वीरगन्जमा बसेर सँगै मदिरा सेवन गरी हत्याको योजना बनाएको खुलेको प्रहरी निरीक्षक नेपालले बताए । ‘अदालतबाट सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अन्य कुरा बयानको क्रममा खुल्नेछ ।’ 

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully