बिना इजाजतका औषधि बिक्री गर्ने दुई पसलमा सिलबन्दी

अनुगमनको क्रममा शाखाले हेटौंडा–८ स्थित अग्रिम हेल्थ केयर र हेटौंडा–४ स्थित बिके हेल्थ क्लिनिकमा बिना इजाजत नै विभिन्न कम्पनीका औषधि बिक्री गरिएको पाइएपछि सिलबन्दी गरिदिएको हो ।

मंसिर १३, २०८२

शंकर आचार्य

Two shops selling medicines without a license sealed

पर्सा — औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले इजाजत बिनाका औषधि बिक्री गरेको पाइएपछि हेटौंडाका दुई औषधि पसलमा सिलबन्दी गरेको छ । 

अनुगमनको क्रममा शाखाले हेटौंडा–८ स्थित अग्रिम हेल्थ केयर र हेटौंडा–४ स्थित बिके हेल्थ क्लिनिकमा बिना इजाजत नै विभिन्न कम्पनीका औषधि बिक्री गरिएको पाइएपछि सिलबन्दी गरिदिएको हो । 

शाखा प्रमुख शम्भूप्रसाद साहका अनुसार मंगलबार मकवानपुरका १९ र बुधबार सिन्धुली जिल्लाका १४ गरी कूल ३३ औषधि पसल अनुगमन गरिएको थियो । अनुगमनको क्रममा औषधि पसलहरु दर्ता भए/नभएको, फर्मासिस्ट वा व्यवसायी आफै पसलमा बस्ने गरेको/नगरेको, लागुऔषध तथा मनोद्विपकको तथ्यांक राखेर बिक्री गरे/नगरेको, औषधि व्यवस्था विभागमा दर्ता नरहेको औषधि सञ्चय गरे/नगरेको आदि जानकारीलाई लक्षित गरिएको शाखा प्रमुख शाह बताउँछन् ।

कार्यालयका निरीक्षकद्वय रजिना श्रेष्ठ र मुकेशकुमार राउतको टोलीले अनुगमन गरेको थियो । सिन्धुलीका औषधि पसलमा भने कुनै कैफियत भेटिएको थिएन ।

मकवानपुरमा अनुगमनको क्रममा चार औषधि पसलमा फर्मासिस्ट नबसेको पाइएपछि ती पसल तत्कालै बन्द गरी उनीहरुलाई स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको साहले बताए । 

कार्यालयको कार्यक्षेत्रमा मधेश प्रदेशका सिराहा र सप्तरी बाहेकका ६ जिल्ला र बागमती प्रदेशका चितवन, मकवानपुर र सिन्धुली गरी ९ जिल्ला पर्छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully