बारामा प्रहरीले रोक्यो बालविवाह, चिनियाँ बेहुलासहित तीन जना पक्राउ

पक्राउ परेका चिनियाँ बेहुलासहितलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

मंसिर ११, २०८२

लक्ष्मी साह

Police stop child marriage in Bara, arrest three people including Chinese groom

What you should know

बारा — बारामा प्रहरीले चिनियाँ र मुस्लिम बालिकाबीचको बालविवाह रोकेको छ। करैयामाई गाउँपालिका–१, हरैयाबाट बुधवार मध्यराति चिनियाँ नागरिकले मुस्लिम समुदायकी एक नेपाली नाबालिगसँग बालविवाह गर्ने क्रममा बेहुला–बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

उनीहरूको नाम भने खुलाइएको छैन । ‘तर अनमेल तथा बालविवाह हो, होइन ? र के उद्देश्यले त्यसरी विवाह गर्न खोजिएको हो भन्ने विषयमा गहिरो अनुसन्धान भइरहेको छ,’ उनले भने। प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा रहेको उनले बताए ।

‘मध्यराति गाउँबाटै बेहुला–बेहुलीलाई समातेर ल्याइएको हो,’ उनले भने, ‘त्यस गाउँ वरिपरि केही वर्षयता यस्तै चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाले विवाह गर्ने गरेको सूचना प्राप्त भएको छ, त्यसैले यो विषयमा गहिरो अनुसन्धान गर्दैछौं ।’

स्थानीय बासिन्दाका अनुसार मधेसमा भारतमा विवाह गर्ने चलन पहिलादेखि रहे पनि चिनियाँ नागरिकसँग विवाहका घटना नयाँ भएका छन् । यस विवाहले गाउँमा धेरैलाई अचम्मित बनाएको छ । एक स्थानीय बासिन्दाका अनुसार यस्ता विवाह आर्थिक प्रलोभनमा बिचौलियाले गराइदिने गरेका छन् । एक वर्षयता त्यस गाउँमा ३ वटा विवाह चिनियाँ नागरिकसँग भएका पाइएको छ ।

बेहुलीका बाबु जाकिर हुसेन, चिनियाँ नागरिक र बेहुलीसहित ३ जना पक्राउ परेका हुन् । उनीहरूलाई छुटाउन जनप्रतिनिधिहरू प्रहरीमा पुगेका थिए । वडाध्यक्ष सोनालाल साहका अनुसार विवाह गर्ने उद्देश्यले चिनियाँ नागरिक बेहुलीको घरमा आएको बताए । केटाको २२ वर्ष र केटीको २० वर्ष उमेर पुगेको अवस्थामा विवाह गर्ने कानुनी व्यवस्था भए पनि केटीको उमेर १८ वर्ष भएको वडाध्यक्ष साहले बताए ।

‘यो नयाँ प्रकारको विवाहले म पनि अचम्मित भएको छु,’ उनले भने । काठमाडौँमा बेहुलीका आफन्त बस्दै आएका र उतैको पहुँचबाट गाउँमा विवाह सम्बन्ध रचिएको वडाध्यक्ष साहले बताए ।

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully