'डिस्चार्ज' हुनुपर्ने देव उपचार खर्च नजुट्दा अस्पतालमै छन्

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते देव गोल्डेन अस्पताल विराटनगरमा छन् भने उपचार खर्च जुटाउन आमाछोरा भौंतारिइरहेका छन् ।

मंसिर ११, २०८२

विद्यानन्द राम

Dev, who should have been discharged, remains in the hospital due to lack of medical expenses.

What you should know

राजविराज — सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलका ५४ वर्षीय अनिरुद्धलाल देव असोज २६ मा सडक दुर्घटनामा परे ।

नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका देवलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगरमा भर्ना गरियो । तर, उनी निको भएको एक महिना भइसक्दा पनि उपचार खर्च तिर्न नसक्दा अस्पतालमै छन् । 

पैदल ससुराली हिँडेका उनी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारमा सडक दुर्घटनामा परेका थिए । फोनमार्फत खबर पाएका उनकी ५० वर्षकी श्रीमति पर्मिलादेवी र ३० वर्षका छोरा रामभजन देव त्यहाँ पुगेर उनलाई उपचारका लागि अस्पताल लगेका थिए ।

आर्थिक रुपमा विपन्न रहेका ती परिवारले छरछिमेक र आफन्तबाट ऋण र सापटी गरेर अहिलेसम्म अस्पतालमा एक लाख १० हजार र औषधिबापत ९८ हजार रुपैयाँ तिरिसकेका छन् । तर, टाउकोमा शल्यक्रिया भएकाले अस्पताललाई अझै ५ लाख र औषधिको ७२ हजार रुपैयाँ बाँकी रहँदा बुवालाई डिस्चार्ज गराउन नसकेको रामभजनले बताए । 

‘गत कात्तिक ११ गते नै बुवालाई जेनरल वार्डमा सारियो । त्यसको ३/४ दिनमै डिस्चार्ज गराउन चिकित्सकले भन्नुभएको थियो तर बिल तिर्ने पैसै थिएन,’ उनले भने, ‘जोहो गर्न घर फर्किएको एक महिना हुन लाग्दा पनि अझै जोहो गर्न सकिएको छैन ।’ उपचार खर्च जुटाउन अहिले आमाछोरा चौतर्फी भौंतारिरहेका छन् । ‘सबैतिर सहयोगका लागि गुहार्दा अझै ४८ हजार रुपैयाँ मात्रै जम्मा भएको छ,’ रामभजनले भने, ‘अस्पतालले पनि छुट गर्ने कुरा छ तर कम्तीमा दुई लाख रुपैयाँ जम्मा भए हुन्थ्यो ।’  

बुबालाई अस्पतालमा अलपत्र छाड्नुपर्दा पिरोलेको उनले बताए । 'जग्गाजमिन भएको भए बेचेरै पनि उपचार खर्च जुटाउँथे तर कुनै विकल्पै छैन,’ उनी भन्छन्, '२/३ दिनमै फर्किन्छु भनेर घर आएँ तर एक महिना हुन लाग्दा पनि फर्किन सकिनँ ।'

अस्पतालका प्रतिनिधि राजु यादवले घाइतेबारे विस्तृत बुझेर मात्रै प्रतिक्रिया दिने बताए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully