धनुषाको कमलामाईका मेयरसहित १० विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार गोइतसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मंसिर ११, २०८२

कान्तिपुर संवाददाता

Corruption case against 10 including the mayor of Kamalamai, Dhanusha

What you should know

काठमाडौँ — धनुषाको कमला नगरपालिकाको लग्मा बजारस्थित पोखरीको डिलमा माटो पुर्ने तथा घाट निर्माणमा अनियमितता गरेको आरोपमा नगरपालिकाका तत्कालीन मेयर रामउदगार गोइतसहित १० जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार गोइतसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २९ लाख ४४ हजार १३७ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना तथा हिनामिना भएको रकम असुलउपरको मागदावी लिइएको छ । 

अख्तियारका अनुसार तत्कालीन नगर प्रमुख गोइत, कमला नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल (पाँचौ) संजीवकुमार महतो र जिन्सी शाखा प्रमुख जुगल किशोर यादव,  नगरपालिकाका तत्कालीन कार्यपालिका सदस्यहरु धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम र समसुल मिया मोमिन तथा ठेकेदार इन्फ्रास्टक्चर एस एण्ड बी बिल्डर्स प्रालिका अध्यक्ष सन्तोषकुमार यादवलाई मुद्दामा प्रतिवादी बनाइएको छ । ठेक्का लगाउँदा सबैभन्दा कम कबोल गर्नेलाई नदिएर बढी कबोल गर्ने यादवको कम्पनीलाई मिलेमतोमा ठेक्का सुम्पिएको खुलेपछि बढी हुन आउने रकमलाई नै बिगो कायम गरिएको हो । 

मेयर, अरु ३ कर्मचारी, कार्यपालिकाका ५ सदस्य र ठेकेदारलाई छुट्टाछुट्टै बिगो कायम गरिएको छ ।

आव २०७६/७७ का लागि आह्वान गरिएको ठेक्कामा ४२ लाख ७४ हजार ५५१ कबोल गर्नेलाई नदिएर ७२ लाख २१ हजार ६३० कबोल गर्ने यादवको कम्पनीलाई दिइएको थियो ।

त्यसपछि अख्तियारमा उजुरी परेकामा मिलेमतोमा अनियमितता भएको अनुसन्धानबाट खुलेको थियो ।

कान्तिपुर

Link copied successfully