फतुवा विजयपुर नगरपालिका-६, रामदासी टोलका २२ वर्षीय गणेश महतोको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट — रौतहटको फतुवा बिजयपुरमा माइक बजाउन तार जोड्ने क्रममा मंगलबार राति करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा करेन्ट लागेर मृत्यु हुने घटना बढ्दो छ । फतुवा विजयपुर नगरपालिका-६, रामदासी टोलका २२ वर्षीय गणेश महतोको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आफ्नै घरमा राति माइकको तार जोड्ने क्रममा महतोलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि स्थानीय नेसनल हस्पिटल विजयपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बाराको कोल्बी लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।
