चुरेमा हुने व्यावसायिक गाँजा खेती बेला–बेला प्रहरीले फँडानी अभियान चलाएपछि कमी आएकामा पछिल्लो समय यो खेती मौलाउन थालेको स्थानीय बताउँछन् ।
What you should know
सर्लाही — सर्लाहीको चुरे क्षेत्रमा पछिल्लो समय गाँजा खेती मौलाउन थालेको छ । भौतिक रूपमा विकट रहेको यस स्थानमा प्रहरीसँगको मिलेमतोमा किसानले व्यावसायिक रूपमा गाँजा खेती गर्न थालेका हुन् । गाँजा खेतीमा व्यापारीको समेत लगानी हुने गरेको छ ।
सिन्धुली र सर्लाहीको सीमामा रहेको यस चुरे बस्तीमा प्रहरीको साथ पाएपछि स्थानीयले ढुक्क भएर गाँजा खेती गर्दै आएका छन् । लागूऔषधका रूपमा रहेको गाँजा कतिपय व्यापारीले किसानको जग्गा ठेक्कामा लिएर पनि लगाउने गरेको स्थानीय बताउँछन् । गाँजामा रोग लाग्दा हेरचाहका लागि व्यापारीहरूले भारतबाट नै जानकार बोलाउने गरेका छन् ।
चुरेमा हुने व्यावसायिक गाँजा खेती बेला–बेला प्रहरीले फँडानी अभियान चलाएपछि कमी आएकामा पछिल्लो समय यो खेती मौलाउन थालेको स्थानीय बताउँछन् । उनीहरूले प्रहरीको साँठगाँठमा गाँजा खेती विस्तार भइरहेको जानकारी दिए । तीन वर्षअघि प्रहरीले चुरेका अधिकांश गाँजा खेतमै पुगेर नष्ट गरे पनि त्यसपछि गाँजा फँडानी रोकिएको छ । चुरेकै लागि पत्थरकोट, परवानीपुर र कालिन्जोर प्रहरी चौकी स्थापना गरिएको छ । तर उनीहरू यसलाई नियन्त्रणका लागि पहल थाल्नुपर्नेमा साँठगाँठमा रमाउने गरेको एक स्थानीयले बताए ।
‘चुरेको पाखो बारीमा व्यावसायिक रूपमा गाँजा खेती मौलाउन थालेको छ, अन्य बालीमा भन्दा गाँजामा राम्रो आम्दानी भएकाले पनि किसान यसतफै आकर्षित हुन्छन्,’ उनले भने, ‘फँडानी भएर निराश भएका किसान अहिले हौसिएका छन्, प्रहरीको पनि साथ पाइरहेका छन् ।’
नारायणखोला, सत्रकट्ठा, भालुखोप लगायतका स्थानमा उत्पादन भएको गाँजा बिक्रीका लागि जिल्लाको ग्रामीण सडक हुँदै भारतसम्म पुर्याउने गरिएको छ । प्रहरीले बेलाबखत त्यस्ता गाँजा बरामदसमेत गर्ने गरेको छ । केही वर्षअघि नारायणखोलामा गाँजा प्रशोधन केन्द्रसमेत प्रहरीले फेला पारेको थियो । त्यहाँबाट ठूलो मात्रामा गाँजा बरामद भएको थियो ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले गाँजा खेतीको सूचना आएको जानकारी दिँदै यसको फँडानीका लागि गृहकार्य भइरहेको बताए ।
