मेसिनको ठक्करबाट बाइक जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
बारा — बाराको महागढीमाईमा धान दाइँ गर्ने मेसिनले बाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम हुलाकी मार्गअन्तर्गत महागढीमाई नगरपालिका बरियार इनर्वा चोक नजिक धरमपुर भुतही पुलमा सोमबार राति उक्त घटना भएको ह ।
इनर्वा चोकबाट पूर्वतर्फ गइरहेको मेसिनले बाइकलाई ठक्कर दिएको थियो । रौतहट मौलापुर नगरपालिका-३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनारको मृत्यु घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै बाइकमा बसेका उनका साला बाराको कोल्हवी बजारका २६ वर्षीय सुनिलसाह सोनार गम्भीर घाइते भएका हुन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।उनीहरु पटेर्वाबाट जन्तीका लागि बेनौली जाँदै थिए ।
रुपेशले चलाएको अपाचे बाइक नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्पान मेसिन चालक भने फरार छन् । मेसिन प्रहरीको नियन्त्रणमा छ । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
