दसगजामा प्रहरी र तस्करबीच गोली हानाहान

गाँजाको सुराक पाएर आइतबार मध्यराति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गस्तीमा निस्किएको प्रहरी र तस्करबीच सीमावर्ती पचरौता नगरपालिका-६ बेल्दारी गाउँस्थित दस गजामा दोहोरो फायरिङ भएको हो।

मंसिर ८, २०८२

लक्ष्मी साह

Gunfight between police and smugglers in Dasgaja

बारा — बारामा गएराति प्रहरी र तस्करबीच गोली हानाहान भएको छ। गाँजाको सुराक पाएर आइतबार मध्यराति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट गस्तीमा निस्किएको प्रहरी र तस्करबीच सीमावर्ती पचरौता नगरपालिका-६ बेल्दारी गाउँस्थित दस गजामा दोहोरो फायरिङ भएको हो।

प्रहरीको फायरिङपछि तस्करहरूले प्रयोग गरेका ४ वटा भारतीय मोटरसाइकल छाडेर भारततर्फ भागेका थिए।

ट्र्याक्टरमा त्रिपालले छोपेर नेपालतर्फ ल्याइरहेको सामान तस्करले प्रहरीको फायरिङपछि ट्र्याक्टरसहित भारततर्फै भागेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले बताए।

‘२ जना इन्टेलिजेन्स प्रहरीले नेपाल प्रवेश गर्दै गरेको लोडेड ट्र्याक्टर देख्नासाथ नियन्त्रणमा लिन खोजेपछि तस्करले २ राउन्ड फायर गरेपछि प्रहरीले ७ राउन्ड फायर गरेको थियो,’ उनले भने, ‘त्यसपछि तस्करले ट्र्याक्टर लिएर भारततर्फ भागेका थिए।’

भाग्ने क्रममा तस्करले खसालेका २ वटा भारतीय सिम प्रयोग भएको २ वटा एन्ड्रोइड मोबाइल प्रहरीले बरामद गरेको छ। ट्र्याक्टरमा काजु ल्याइँदै गरिएको गोप्य सूचना पाएको उनले बताए। ‘सीमामा गाँजाको गोदाम रहेको सूचना पाएपछि प्रहरी परिचालन गरेका थियौँ। तर गाँजाको सुराक पत्ता लगाउने क्रममै अर्कै तस्करसित जम्काभेट भयो,’ उनले भने, ‘करिब २०/२५ तस्करहरू थिए।’

भारतीय नागरिक रञ्जित कुमारको नाममा रहेको सवारी चालक अनुमति पत्र पनि बरामद भएकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए। उनका अनुसार त्यही रुटमा गत मंसिर १ मा ५४ केजी गाँजा भारततर्फ बाइकमा लग्दै गर्दा बरामद गरिएको थियो।

लक्ष्मी साह साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully