यादवको हठले मधेशमा एक्लिँदै एमाले

ओली सरकारका पालामा नियुक्त भएकी प्रदेश प्रमुख भण्डारीमाथि दबाब बढाएर यादवले होटलमै मुख्यमन्त्रीको शपथ लिए । उनको गतिविधिले एमालेसँग सहयात्रा गरिरहेको कांग्रेस त बिच्कियो नै एमालेभित्र पनि असन्तुष्टि चुलिएको छ ।

मंसिर ७, २०८२

अजित तिवारी

UML is becoming isolated in Madhesh due to Yadav's stubbornness

What you should know

जनकपुर — मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा सरकार बन्दा एमालेको भागमा चार मन्त्रालय परको थियो । जसको नेतृत्व एमाले संसदीय दलका नेता सरोजकुमार यादव (महोत्तरी) ले नै लिएका थिए ।

जनमत पार्टीका सिंहलाई ०८१ असार २२ मा विश्वासको मत दिनेमा एमाले पनि थियो । मुख्यमन्त्री सिंहको उपस्थितिमा यादवले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग शपथग्रहण गरे । गृह तथा सञ्चार मन्त्रालयको कार्यभार सम्हाल्दै यादवले सुराकीबापत लिइने रकममा रोक पनि लगाए  । 

पालैपालो भौतिक पूर्वाधार तथा विकास, गृह तथा सञ्चार, खेलकुद तथा समाजकल्याण र स्वाथ्य मन्त्रालयको जिम्मेवारी पनि आफैंसँग राखेकाले एमालेमा किचलो बढेको थियो । 

मन्त्रीको नाम टुंग्याउन एमालेमा सकस भइरहेका बेला संसदीय दलका नेता रहेका यादवले आफ्नो दलको भागमा परेका चारवटै मन्त्रालय नियन्त्रणमा राखेको भन्दै त्यतिबेला एमाले मधेश प्रदेशमा विवाद भएको थियो । शीर्ष नेताले मन्त्रीको नाम टुंग्याएपछि बल्ल उनले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँग राखेर अरु मन्त्रालय छाडेका थिए । 

‘महत्त्वपूर्ण विषयमा पनि दलका नेता यादवले आफूखुशी नै निर्णय लिनुहुन्छ,’ एमालेका असन्तुष्ट एक प्रदेश सांसदले भने, ‘उहाँ केन्द्रमा पनि धेरै नेतासँग सरसल्लाह गर्नुहुन्न । महासचिव शंकर पोखरेलको सल्लाहमा नै हिँड्नुहुन्छ ।’ ती सांसदका अनुसार मधेश प्रदेशको संसदीय दलको नेता पनि शीर्ष नेताको ‘आशीर्वाद’ले नै बनेका हुन् । चुनावले होइन । 

यसअघि, २०७९ पुस २७ गते जसपा नेपालका मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादव (बारा) को नेतृत्वमा बनेको सरकारमा पनि एमालेका संसदीय दलका नेता भौतिक पूर्वाधार तथा विकासमन्त्री बने । एमालेलाई मधेश प्रदेश सरकारमा सहभागी हुने अवसर आउँदा मन्त्री बन्न यादव नै हतारिने गरेकामा असन्तुष्टि चुलिएको छ । 

जेन–जी आन्दोलनपछि जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जालमा मात्र राजीनामा घोषणा गरेको र पछि ‘संघीय लोकतान्त्रिक संविधान’को रक्षाका लागि आफ्नो नेतृत्वको सरकार रहिरहने अडानमा एमालेका संसदीय दलका नेता यादवको पनि भरथेग थियो । 

सिंहको आफ्नै दल जनमत पार्टीले मुख्यमन्त्री पदबाट राजीनामा गर्न पटक–पटक पत्र काटे । तर, सिंह आफ्नै दलसित बगावतमा उत्रिनुमा एमाले–कांग्रेसको धाप नै थियो । मुख्यमन्त्री सिंहको नेतृत्वको मधेश प्रदेश सरकारले आर्थिक वर्ष ०८२/०८३ मा एमालेका संसदीय दलका नेता यादवले सम्हालिरहेका भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई करिब १७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिदियो ।

अरु मन्त्रालयभन्दा झन्डै चार तिहाइ बढी बजेट राखिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय यादव गुमाउन चाहँदैनथे ।

एमाले, कांग्रेस, जनमत र लोसपाको समर्थनमा सिंहको नेतृत्वमा बनेको सरकार आलोपालो गर्ने सहमति दलबीच थियो । गत जेठमा भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘आलोपालो गर्दा एमालेको पालो आएन र ?’ सञ्चारकर्मीको प्रश्नमा यादवले भनेका थिए,‘उपयुक्त समय आइसकेको छैन ।’

सिंह सरकारको बर्हिगमन हुँदा करिब १७ अर्ब बजेट रहेको मन्त्रालय गुम्ने चिन्तामा यादव भने अन्तिम समयसम्म कि सिंहकै सरकारको निरन्तरता वा कांग्रेसको नेतृत्वमा सरकार बनाएर फेरि भौतिक पूर्वाधार मन्त्रालय नै सम्हाल्ने रणनीतिमा थिए । तर, अन्तिम समयमा जनमत पार्टी एमाले–कांग्रेसको साथ छोड्दै लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएपछि यादव बिच्किएका थिए । 

एमालेका संसदीय दलका नेता यादवले आफूचाहिँ मुख्यमन्त्री बन्ने इच्छा राखेका थिएनन् । तर, सोनलले विश्वासको मत नपाउने अवस्थामा राजीनामा गरेपछि यादवले ओली सरकारको पालामा नियुक्त भएकी प्रदेश प्रमुख भण्डारीमाथि दबाब बढाएर संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा बर्दिवासको पानस कटेजमा झिसमिसैमा मुख्यमन्त्री पदको शपथ लिएका थिए ।

UML is becoming isolated in Madhesh due to Yadav's stubbornness

यादवको हर्कतले एमालेसँग सहयात्रा गरिरहेको कांग्रेस त बिच्कियो नै एमालेभित्र पनि असन्तुष्टि चुलिएको छ । यादव मुख्यमन्त्री बनेपछि मधेश प्रदेशका दुई ठूला पद प्रदेश प्रमुख भण्डारी र सभामुख रामचन्द्र मण्डलको पद गुमेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमले संघीयतामा पनि प्रश्न उठ्न थालेको भन्दै मधेशमा ठूलो दल रहेको एमालेलाई नोक्सानी हुने टिप्पणी गर्न थालिएको छ । ‘एमालेप्रति मधेशमा आक्रोश देखिएको छ,’ विश्लेषक हेमन्त कर्णले भने,‘बाराको सिमरा घटनाले त्यही संकेत गरेको छ । पुरानो मानसिकता नफेरेसम्म एमालेलाई मधेशमा समस्या भइरहन्छ ।’

तर, मुख्यमन्त्री एवं एमाले दलका नेता यादव भने जनतासँगको सम्बन्ध झन् झांगिएको बताउँछन् । ‘एमालेको कारण सोनलको सरकार ढलेको त होइन नि,’ उनले भने, ‘सोनलको सरकार उहाँहरुकै कारण ढलेको हो, मेरो नेतृत्वको सरकार उहाँहरुकै कारण बनेको हो । यसले एमालेको गरिमा, सम्बन्ध र जनतासँग जोड्नुभएन । उहिले जनतासँगको सम्बन्ध झन् सुध्रिएको छ ।’

एमालेका प्रमुख सचेतक हरिनारायण महतोले होटलमा झिसमिसेमा मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण गरेको घटना अस्वाभाविक रहेको बताए । ‘पार्टीभित्र सरसल्लाह नै गरी अस्वाभाविक निर्णयमा पुग्नु हुँदैनथ्यो,’ एमाले सांसद महतोले भने, ‘पार्टीभित्र यस मामिलामा हामी गम्भीर छलफल गरिरहेका छौं ।’

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully